त्रिकोणात्मक टी-२० : नेदरल्यान्ड्सलाई नेपालले दियो २ सय ३९ रनको लक्ष्य


काठमाण्डु –  त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई २ सय ३९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो ।

यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । यसअघि नेपालले यही सिरिजमा दुई पटक २०० रन कटाएको थियो भने १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो । नेपालको कीर्तिमानी स्कोरमा कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।

भुर्तेलले तेस्रो विकेटको रुपमा नेपाललाई ७७ रनको योगदान दिए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिए । उनी सेवास्टीयन ब्राटले गरेको १६ औं ओभरको चौथो बलमा लङअनमा पिटर सिलारको हातबाट क्याच आउट हुन पुगे । उनले कप्तान ज्ञानेन्द्र मल्लसँग ५७ रनको साझेदारी गरेका थिए भने कुशल मल्लसँग ७६ रनको साझेदारी गरेका थिए ।

कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेले । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी ४८ रनमा अविजित रहे । उनले १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४८ रनको अविजित इनिङ्स खेलेका हुन् ।कुशल मल्ल र ऐरीले ७८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ४३ रन खर्चेर दुई विकेट लिएका थिए । यस्तै सेवास्टीयन ब्राटले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement