आज तमु ल्होसार मनाइँदै,देशभर सार्वजनिक बिदा


काठमाण्डु – गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement