मेलम्ची छाडेको सीएमसीसँग तनहुँ जलविद्युतको ठेक्का पनि तोडियो


काठमाडौं– १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको ठेक्का तोडेको छ।

तनहुँ हाइड्रोपावर लिमिटेडले तनहु आयोजना अन्तर्गत नदी फर्काउने र बाँध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता उद्दका लागि टर्मिनेसन लेटर दिएको हो। सिएमसी त्यो कम्पनी हो, जसले मेलम्ची खानेपानी आयोजनाको काम बीचमै छाडेर स्वदेश गएको थियो।

तनहुँ हाइड्रोपावरले यसअघि सीएमसीलाई साइटमा काम थाल्न २८ दिनको समय दिए पनि काममा नफिर्कएपछि ठेक्का रद्द गरेको हो।

तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेका अनुसार काममा फर्कन दिएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीयरुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेकोलगायतका कारण रद्द गरिएको बताए।

तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच १५ असोज २०७५ मा २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) मा खरिद सम्झौता भएको हो ।

सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी सुरु गरिएको जनाइएको छ। अब चाँडै नै नयाँ टेण्डर आह्वान गरिने बताइएको छ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी) ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले गरिरहेको छ, भने विद्युत खरिद–बिक्री सम्झौता नेपाल विद्युत प्राधिकरणसँग भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement