ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरीले किन प्रहार गर्‍यो गोली ?

ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरीले किन प्रहार गर्‍यो गोली ?


काठमाण्डु – ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच शनिबार दुई पटक झडप भयो । स्थानीय अराजक रूपमा प्रस्तुत भएपछि प्रहरीले गोलीसमेत प्रहार गर्नुगर्‍यो ।

प्रहरीले प्रहार गरेको गोली र झडपमा परी घाइते भएका तेह्रथुमका यमबहादुर लिम्बु र पाँचथरको मिक्लाजुङ गाउँपालिका सगुन लावतीलाई विराटनगरबाट थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ । घाइतेहरूको अहिले मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयले प्रहरीको गस्ती टोलीमाथि नै आक्रमण भएपछि अवस्था तनावपूर्ण भएको थियो । केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीयल प्रहरी इन्स्पेक्टर रोहित शर्मामाथि ढुंगा प्रहार गर्दा उनले गलाएको हेलमेट फुटेर मुखमा चोट लागेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

शर्माले प्रहरी निरीक्षक शर्मासहित प्रहरीका १२ जना र सशस्त्र प्रहरीका ९ जना घाइते भएका जानकारी दिए । उनका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन सक्ने अवस्था नभएपछि गोली प्रहार गर्ने बाध्यतामा पुगेको थियो । प्रहरीको गोली प्रहारबाट आन्दोलनरत समूहका ३ जना घाइते भएको र उनीहरूको विराटनगरेको नोबेल अस्पतालमा उपचार भइरहेको शर्माले जानकारी दिए ।

स्थानीयले प्रमुख जिल्ला अधिकारी शर्मालाई फोन गरेर तँ सुरक्षित छैनस् भन्दै अश्लिल गालीसमेत गरेका थिए । शनिबार बेलुका करिब ५ः५० बजे गस्तीबाट फर्किरहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीमाथि प्रदर्शनकारीले एक्कासि आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको सरकारी पक्षले बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले प्रहरी टोलीको नेतृत्व गरिरहेका प्रहरी निरीक्षकमाथि नै छुरा र ढुंगा प्रहार गरिएपछि स्थिति गम्भीर बन्न गएको जानकारी दिइन् ।

प्रहरीले प्रदर्शनकारीका साथबाट तीनथान खुकुरी र एउटा गुलेली बरामद गरेको बताएको छ ।

केबलकार निर्माणका निम्ति गएको मंगलबारदेखि त्यस स्थानमा जमिन सम्याउने कार्य थालिएको थियो । स्थानीयहरूले उक्त कार्यको विरोध गरिरहेका छन् । झडपपछि त्यो कार्य रोकिएको छ ।