३० महिनाको लक्ष्य, १७ महिनामै पूरा


अमलेखगन्ज – सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन अब सकिए। बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो।

अझ खुसीको कुरा– निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ। यसको सञ्चालनबाट इन्धनको सुनिश्चितता हुनेछ। ‘जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन देशमा भित्र्याउन पाउँछौं। हाम्रो सबैभन्दा ठूलो उपलब्धि यही हुनेछ’, नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘सीमा क्षेत्र र सडकमार्गमा भइरहने आन्दोलन र विभिन्न प्रकारका अवरोधका कारण हुने इन्धन अभावबाट उपभोक्ताले अब छुट्कारा पाउनेछन्।’

यससँगै ढुवानी लागत घटेको सन्देश दिन निगमले मंगलबार मध्याह्नदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको छ।

निगमका अनुसार पाइपलाइनमार्फत प्रतिघण्टा २ लाख ९४ हजार लिटर इन्धन अमलेखगन्ज डिपोमा खसाल्ने क्षमता छ। हाल १ लाख ९२ हजार लिटरका दरले आपूर्ति गरिनेछ। काठमाडौंमा दैनिक ५ लाख लिटर पेट्रोल र ७ लाख लिटर डिजेल माग छ। देशभर दैनिक १६ लाख लिटर पेट्रोल र ४७ लाख लिटर डिजेल खपत हुन्छ। काठमाडौंका लागि साढे ३ र देशभर चाहिने मात्रा ल्याउन १८ घण्टा न्यूनतम क्षमतामा सञ्चालन गरे आपूर्ति सम्भव हुन्छ। पूर्व र पश्चिमका केही भागमा भने ट्यांकरमार्फत पायकका नाकाबाट इन्धन भित्र्याइनेछ। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement