टर्कीको स्थानीय चुनावमा राष्ट्रपति एर्दोगानलाई झट्का


एजेन्सी- टर्कीको प्रमुख विपक्षी दलले इस्तानबुल र अंकारामा स्थानीय चुनावमा ठुलो जित हासिल गरेको छ । यी परिणामहरू देशका राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो झटका लागेको विश्लेषण गरिएको छ ।

गत वर्ष तेस्रो पटक राष्ट्रपतीय चुनाव जितेका एर्दोगानले स्थानीय चुनावमा पनि राम्रो प्रदर्शन गर्ने आशा राखेका थिए । इस्तानबुल मेयरको चुनावमा एर्दोगान आफैंले अभियानको जिम्मेवारी लिएका थिए । यही सहरमा हुर्केका उनी यहाँको मेयर पनि भइसकेका छन् ।

तर २०१९ मा पहिलो पटक यस सहरको मेयर बनेका एकराम इमामोग्लुले धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका उम्मेदवारका रूपमा ठूलो जित हासिल गरेका छन् ।

एर्दोगानले चुनावी अभियानका क्रममा १ करोड ५० लाख जनसंख्या भएको यो सहरलाई रूपान्तरण गर्ने वाचा गरेका थिए । तर एर्दोगानको एके पार्टीका उम्मेदवारले करिब १० लाख मतले हार बेहोरेको थियो । २१ वर्षअघि सत्तामा आएका एर्दोगानका लागि यो पहिलो पराजय हो ।

टर्कीको राजधानी अंकारामा मेयर पदका लागि विपक्षी दलका उम्मेदवारले आधा मतगणनापछि मात्रै आफ्नो जित घोषणा गरेका थिए । उनका समर्थकहरूले शहरको सडकमा झण्डा फहराउँदै र कारका हर्न बजाउँदै हिडेका थिए ।

टर्कीको चौथो ठूलो सहर बुर्सा र बालिकेसिरमा विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टीले जित हासिल गरेको छ । यसबाहेक, पार्टीले इज्मिर, अडाना र अन्टाल्यामा आफ्नो शक्ति कायम राखेको छ ।

राष्ट्रपति एर्दोगानले चुनावको नतिजा अपेक्षित नभएको तर आफ्नो पार्टीका लागि यो टर्निङ प्वाइन्ट साबित हुने आशा व्यक्त गरेका छन् । उनले आफ्ना समर्थकहरूलाई आफूले सधैं जनमतलाई समर्थन गर्ने र यसपटक पनि मतदाताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement