नेपालका लागि खुसिकाे खबर ! तातोपानी नाका सुचारु गर्न चीन सहमत


काठमाडौँ– भूकम्पपछि बन्द रहेको तातोपानी नाका सुचारु गर्न चीन सरकारले चासो देखाएको छ । भूकम्पमा क्षति पुगेको नाकाको चेकपोइन्ट पुर्ननिर्माणका लागि बिहबार नेपाल र चीनबीच सम्झौता भएको हो ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएपछि बन्द रहेको तातोपानी नाका पुर्ननिर्माण गर्ने सम्झौतामा बिहीबार अर्थ मन्त्रालयमा सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले हस्ताक्षर गरे ।

भूकम्पले भत्किएको नाकामा रहेको चीनियाँ पक्षको चेक पोइन्ट छिट्टै बनाउने चीनले जानकारी दिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डेकाअनुसार चेक पोइन्ट पुनर्निर्माण गर्न चीन सहमत भएसँगै छिट्टै नाका खुल्ने विश्वास सरकारले गरेको छ ।

उनले भने, ‘चीन भत्किएको चेक पोइन्ट पुनर्निर्माण गर्न सहमत भएको छ, यसलाई चीन छिट्टै नाका खोल्न पनि तयार हुनेछ भन्ने बुझ्नुपर्छ । यसअघि चीनले नेपाल तिरको बाटो पुनर्निर्माणका लागि दिएको १६ अर्ब पनि खर्च गर्दै छिटो काम गरे छिट्टै नाका सुचारु हुनेछ ।’

यो सम्झौता अन्तर्गत पुन : निर्माणको काम अघि बढेमा एक वर्ष्भित्रमा तातोपानी व्यापार नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ । काठमाण्डुदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न यसअघि दुवै देशबीच सम्झौता भई काम शुरु भइसकेको छ ।

यसअघि गत असारमा काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११औं बैठकमा दुबै देशका पदाधिकारी सो नाका खुलाउन सहमत भएका थिए । बैठकमै भन्सार नाकाको पुनर्निर्माण र थप संरक्षण कार्यको लागि करिव २ अर्ब रुपैयाँ चीन सरकारले छुट्याएको चिनियाँ पक्षले जानकारी सरकारलाई गराएको थियो ।

बिहिबार भएको सम्झौतामा नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोग अन्तर्गत तातोपानी भन्सार नाकासँगै सिन्धुपलाञ्चोक अस्पताल र जिरी माध्यमिक बिद्यालयको पुनःनिर्माणको विषय समेत समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement