युवाहरूलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ : युवा मन्त्री चौधरी

युवाहरूलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ : युवा मन्त्री चौधरी


काठमाण्डु – नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरूलाई मुलुकभित्रै भविष्य खोज्ने वातवरण बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषद्सँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाली युवाहरूलाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातावरण बनाउनुपर्दछ । नेपाली युवाहरूलाई मुलुकभित्रै भविष्य खोज्ने वातावरण बनाउनु नै मुख्य चुनौती हो । यसबारे सबै सरोकारवालाले गम्भीर भएर लाग्नुपर्दछ ।’

मन्त्री चौधरीले युवा शक्तिलाई परिचालन गर्न सके मात्र मुलुकले समृद्धिको पाइला चाल्न सकिने जिकिर गरे । उनले युवा जनशक्तिको बढ्दो पलायनमा चिन्ता व्यक्त गरे । ‘नेपाली युवाहरू दिनदिनै एयरपोर्टबाट विदेश उडिरहेका छन्,’ उनले चिन्ता व्यक्त गर्दै भने, ‘युवा पलायन किन भइरहेका छन्, यसबारेमा सोच्ने बेला आएको छ ।’

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूको अपेक्षाका तुलनामा बजेट अपर्याप्त रहेको बताए । बस्नेतले कूल जनसंख्याको ४२.५६ प्रतिशत जनसंख्या युवाको रहेकाले युवाको सवाल र समस्यालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए ।

युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि कार्यविधि संशोधन गरेर युवा उद्यम कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालय र परिषद्बीच समन्वय गरी युवाका पक्षमा नतिजामुखी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख दिनेश घिमिरले परिषद्का तर्फबाट भएका कामसहित नयाँ आर्थिक वर्षमा गरिने कार्यक्रम र योजनाको विस्तृत रिपोर्ट पेश गरेका थिए ।