सप्तरी – युवा तथा खेलकुदमन्त्री तैजुलाल चौधरीले राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुन जरुरी रहेको बताएका छन् ।
नेपाली कांग्रेस नगर कार्यसमिति बोदेबरसाइनले मंगलबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा समेत बढाउने भएकाले यस क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।
मन्त्री चौधरीले खेलाडीलाई अवसर, सेवासुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएकाले खेलकुद क्षेत्रमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए ।
नेपालमा क्रिकेट रंगशालाको अभाव लगायत समस्या भए पनि खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको योगदान, खेलप्रेमीको मायाले खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित भएको भन्दै उनले अब खेलाडीलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधारको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
‘सम्पूर्ण खेलप्रेमीको मायाले आज खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा परिचित छन्, खेलाडीहरू राष्ट्रका गहना हुन् तर हामीले सुविधा र भौतिक पूर्वाधार दिन सकेका छैनौं,’ उनले भने ।
मन्त्री चौधरीले ११औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी मधेश प्रदेश राजधानी जनकपुरधाम, वीरगञ्ज र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिइने बताए । उनले एघारौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रंगशाला निर्माण गरिने विश्वास दिलाए ।
त्यस अवसरमा बोदेबरसाइन नगर बजार व्यापार संघका पदाधिकारीले मन्त्री तैजुलाल चौधरीलाई स्वागत गर्दै बजारको विकासका लागि भन्सार कार्यालय स्थापना, कबडहल र राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापनाका लागि आग्रह गरेका थिए ।
प्रतिक्रिया