देशैभर तापक्रम क्रमशः बढ्दै

देशैभर तापक्रम क्रमशः बढ्दै


काठमाण्डु- काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको बताए । उनले न्यूनतम तापक्रम पनि बढी नै देखिएको जानकारी दिए ।

यसको कारणबारे उनले भने, ‘लामो समयदेखि पानी पनि परेको छैन । भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको हो ।’ उनले अब तापक्रम बढ्ने समय पनि हुन लागेको बताए ।

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ ।

यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने मौसमविद् अधिकारीको भनाई छ । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनले बताए ।

विभागले बुधबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस देखिएको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको थियो । यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।

बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ । बिहीबार न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको महाशाखाले जनाएको छ ।