ठाकुर-महतो समूहमा गम्भीर असन्तुष्टि


काठमाण्डु –  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् ।

पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् ।

जसपा स्रोतका अनुसार प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, दुलारी देवी, विमल श्रीवास्तव, राजकिशोर यादव, चन्द्रकान्त चौधरी र नरमाया ढकालले छलफल कार्यक्रम बहिष्कार गरेका हुन् । राजकिशोर र विमलमन्त्री नियुक्त भएका थिए । पार्टी एकताको पक्षमा रहेका राजकिशोरले ठाकुर र महतोलाई आफ्नो नेता अस्वीकार गर्दै आएका छन् । उनी जसपा पार्टी एकताको पक्षमा रहेकाले ठाकुर र महतो पक्षले बोलाएको बैठकमा सहभागी नभएको उनीनिकट नेताले जनाएको छ ।

विमलले आफू वीरगन्जमा भएको र प्रमोदले आफू सर्लाहीमा भएकाले बैठकमा सहभागी नभएको राजधानीलाई बताएका छन् । तर, राजकिशोर र विमलबाहेकका अन्य ६ जना निवर्तमान सांसदले आफूलाई मन्त्री नबनाएको भन्दै ठाकुर र महतोले बोलाएको छलफल बहिष्कार गरेका छन् ।

ठाकुर र महतोले बोलाएको छलफल बहिष्कार गर्ने प्रमोद, विमल, राजकिशोर र चन्द्रकान्त निर्वाचित सांसद हुन् । अमृता, रानी, दुलारी र नरमाया समानुपातिक सांसद हुन् । पार्टी आधिकारिकताबारे विवाद चलिरहेको र उपेन्द्र समूहले आधिकारिता पाए र संसद् पुनस्र्थापना भए आफूहरूको सांसद पद नजोगिने भएकाले समानुपातिक तर्फका सांसदहरू उपेन्द्र समूहमा जाने विश्लेषण जसपाभित्र भइरहेको छ ।

बिहीबार तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलस्थित मधेस भवनमा भएको छलफलमा अगामी राजनीति यात्राबारे छलफल भएको छ । ठाकुर र महतोले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि कामचलाऊ बनेको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि अब कसरी अघि बढ्ने विषयमा छलफलमा जुटेका हुन् । -यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement