चोरीका घटनामा अधिकांश १६ देखि २५ वर्षका युवाको संलग्नता


धनुषा  – खुला सीमाना,लागूऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा १६-२५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको डरलाग्दो तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले चालू आर्थिक वर्षमा चोरीका घटनामा पक्राउ परेका करीब ४०० जनामध्ये अधिकांश २५ वर्षमुनिका रहेका बताए ।

उनले उत्पादनशील उमेर समूहका युवा नै चोरी तथा कूलतमा संलग्न हुने समस्या प्रहरी प्रशासन र सबैका लागि चिन्ताको विषय भएको बताए । ‘प्रहरीले चोरीमा संलग्न भनी पक्राउ गरेका प्रायः व्यक्ति १६–२५ वर्ष उमेर समूहका छन् र पक्राउ परेका बखत उनीहरूले लागूऔषध सेवन गरेको पाइन्छ,’ खड्काले भने, ‘यो डरलाग्दो अवस्था हो । युवाहरूको मानसिकता किन आपराधिक बन्दैछ भन्ने कुरा थप अनुसन्धानको विषय बन्न सक्छ तर लागूऔषधको लतमा फसेका, रोजगारी वा काम गर्ने अवसर नपाएका र खुला सीमाको गलत फाइदा उठाउने मनोवृत्तिले समस्या बढ्दैछ ।’

खड्काले नेपाल प्रहरी लगायत सुरक्षा निकाय चोरीका घटना नियन्त्रणमा संवेदनशील रहे पनि अन्य सरोकारवालाले युवालाई कूलतमा फस्न नदिनका लागि प्रभावकारी कार्यक्रम बनाउन जरुरी रहेको बताए ।

धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले प्रहरीले विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन, रातको समयमा पैदल गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचमा कडाइ, भीडभाड हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन र विशेषगरी राति १२–४ बजेसम्म हुने चोरीका घटनालाई आधार मानेर विशेष निगरानी बढाई चोरी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।

उनले धनुषामा चालू आर्थिक वर्ष २०७९/८० को हालसम्मको अवधिमा चोरीमा पक्राउ परे पनि पीडितले जाहेरी दिन नमान्ने गरेकाले अधिकांशलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गर्नुपरिरहेको बताए ।

गत आवमा मात्रै चोरी भएका २३६ मध्ये ८१ वटा मोटरसाइकल बरामद गरी सम्बन्धित धनीलाई बुझाइएको प्रहरीको तथ्यांक छ । प्रहरी उपरीक्षक खड्काले गत आवमा २३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएकोमा ८१ वटा बरामद गरेर सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जानकारी दिए ।

बिहीवार मात्रै जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी धनुषामा विभिन्न चोरीका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको छ । मोटरसाइकल, हेल्मेट, धर्मशालामा चोरी तथा लुटपाट, पसलबाट नगद चोरी गरेकोजस्ता आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । उनले घटनामा संलग्नलाई चोरी तथा अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १७ वर्षदेखि ३८ वर्षसम्मका युवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement