पोशाकमै टिकटक बनाएर फेसबुकमा सेयर गर्ने दुई प्रहरी कारबाहीमा


विराटनगर – पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्ने दुई प्रहरीमाथि कारबाही हुने भएको छ । मोरङको इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राईमाथि कारबाही सुरु गरिएको हो ।

प्रहरीको पोशाकमा रहेका दुवै जनाले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल बनेपछि यस विषयलाई चासोपूर्वक लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

उनीहरुले टिकटक बनाउने क्रममा आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटाकि) पनि राखेका भिडियोमा देखिन्छ ।

डीएसपी राईले प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित कार्य गरेकाले दुवै जनामाथि छानबिन थालिएको जानकारी दिए ।

निर्देशिकाअनुसार प्रहरीमा कार्यरत रहेकाले पोशाक लगाएर व्यक्तिगत रुपमा कुनै पनि गतिविधि गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने डीएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement