टोपबहादुर र बालकृष्ण जेल जालान् कि छुट्लान् ? अदालतमा आजदेखि लेखाजोखा हुँदै


काठमाण्डु –  बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे सर्वत्र चासो छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेकाले अब थुनछेक बहस हुनेछ । थुनछेक बहस सुनेपछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने कि साधारण तारेख वा धरौटीमा रिहा गर्ने भनेर आदेश दिनेछन् ।

अदालतमा बुधबार अभियोगपत्र दर्ता भएपछि आज शुक्रबारदेखि बयान हुँदैछ । बयान, थुनछेक बहस र पुर्पक्षको आदेश नआउँदासम्म सबै आरोपी प्रहरी हिरासतमै रहनेछन् ।

सरकारले पक्राउ परेका १६ आरोपीसहित ३० जनाविरुद्ध ५ वटा कसूरमा मुद्दा दायर गरेको छ । पक्राउ परेका १६ जनाको बयान सकिन केही दिन लाग्ने भएकाले पुर्पक्षको आदेशमा पनि ढिलाइ हुनसक्ने देखिएको छ ।

सरकारी वकिल कार्यालयमा भएको बयानमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले करीब ९ घण्टा र पूर्वमन्त्री टोपबहादुर रायमाझीले साढे ५ घण्टा समय लगाएका थिए ।

नेपालीलाई नक्कली कागजका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै ११५ जना पीडितले उजुरी दिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको थियो । अदालतमा थुनछेक बहसपछि रायमाझी र खाँणका सन्दर्भमा कस्तो आदेश आउँछ ? सर्वत्र चासो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement