– उदयसिंह श्रेष्ठ
नेपालगन्ज – नेपालमा संचालित विभिन्न बसहरुले हिजोआज काठमाडौंस्थित भारतीय राजदुताबासबाट टुरिष्ट परमिट लिई यात्रु ओसारपोसर गरेको तथ्य खुलेको छ । नेपाल–भारत मैत्री बस लगायत अवैध रुपमा संचालनमा विभिन्न टुरिष्ट बसहरुले भारतको विभिन्न सहरमा यात्रुलाई सेवा दिंदै आएकोमा त्यस्ता बसहरुले अवैध सामान ओसार पोसार गर्ने गरेको समेत विभिन्न घटनाबाट खुल्न आएको हो ।
काठमाडौंस्थित भारतीय राजदुताबासबाट टुरिष्ट परमिट लिई यात्रुलाई टिकट दिई भारतको विभिन्न सहरमा पु¥याउने र नेपाल आउने अन्य यात्रुहरुलाई नेपाल ल्याउने अवैध कार्य गरेको खुल्न आएको छ । नेपालगन्जको नाका हुँदै अर्घाखाँची र दाङ लगायत जिल्लाहरुबाट काठमाडौंस्थित भारतीय राजदुताबासबाट टुरिष्ट परमिट लिई यात्रुहरुसँग रकम लिई टिकट दिएर दैनिक दर्जनबढी बस संचालनमा आएका छन् ।
भारतीय राजदुताबासबाट टुरिष्ट परमिट लिएका बसहरुले टुरिष्टको नाममा यात्रु बोक्ने गरेको तथा नियम अनुसार जुन यात्रुलाई भारतको विभिन्न सहर घुमाएर पुनः सोही यात्रुलाई ल्याउने नियम भएता पनि त्यस्तो नगरिएकोले कुनै पनि निकायले अहिलेसम्म चासो दिएको छैन ।
मुलुकमा अहिले विप्लप समूहले विभिन्न स्थानमा गरेको बम बिस्फोटनका कच्चा पदार्थहरु भारतबाट आउने भएकाले पनि त्यस्ता बसको प्रयोग गर्ने गरिएको बुद्धिजीविले आशंका ब्यक्त गरेको पाइएको छ । नेपालगन्जको जमुनाहा नाकाका जमुनाहा प्रहरी चौकीका एक सुरक्षाकर्मीले भने–‘अवैध रुपमा बस संचालन भएको कुरा माथिसम्म सबैलाई थाहा छ ।
आज हामीले त्यस्ता बसलाई रोक्यौं भने भोली हामीलाई गाली आउँछ । त्यस्ता बस अवैध रुपमा संचालनमा भएको हामीलाई पनि थाहा छ । तर माथिल्लो निकायबाट हामीलाई रोक्ने आदेश नआएकोले हामी केही पनि गर्न सक्दैनौं ।’
अर्घाखाँचीबाट दिल्लीको लागि जान लागेको बस भने शुक्रबार राती ८ बजे जमुनाहा प्रहरी चौकीमा रोकियो । लिस्टमा भएको भन्दा बढी यात्रु भेटिनुका साथै सबै यात्रुहरुसँग टिकट थियो । चौकीका एक सुरक्षाकर्मीले ट्राफिकलाई जानकारी गराउँदा अवैध भएको जानकारी पाएपनि व्यवहारिक नाताले उक्त बस छोडियो ।
अवैध रुपमा संचालनमा आएका त्यस्ता बसहरुलाई सबै चौकीहरुमा सेटिङ हुने गरेकोले सहज रुपमा बस संचालनमा आएको उक्त बसका एक कर्मचारीले बताए ।
प्रतिक्रिया