प्रतिकूल मौसमका कारण अन्तरराष्ट्रिय उडान प्रभावित, एयर अरेबियाको जहाज ओभरसुट

प्रतिकूल मौसमका कारण अन्तरराष्ट्रिय उडान प्रभावित, एयर अरेबियाको जहाज ओभरसुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो ।

काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए ।

त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ चार फन्को मारेपछि भर्खरै काठमाडौँमा अवतरण भएको फ्लाइट राडर्डले जनाएको छ । सँगै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केहीबेरदेखि होल्डमा परेको थियो ।

यसअघि बुधबार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज केही समय होल्ड भएपछि अवतरण भयो । कतारको दोहाबाट आएको कतार एयरवेज र भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि होल्ड भएका थिए । त्यतिमात्रै हैन भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिबिलिटीका कारण होल्डमा परेका थिए ।

प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको उडान सामान्य प्रभावित भइरहेको छ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार मौसममा आएको खराबीका कारण अन्तरराष्ट्रिय हवाई उडान बढी प्रभावित भइरहेको छ । नेपालमा अहिले प्रि–मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तरराष्ट्रिय उडानका जहाज होल्ड र मिस एप्रोच हुने गरेको प्रवक्ता शेर्पाले जानकारी दिए ।

अन्तरराष्ट्रिय उडानका जहाज काठमाडौँ विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘जिरो टु’बाट मात्रै अवतरण गर्नुपर्ने हुन्छ । आन्तरिक उडानका जहाजलाई लामो रनवे भएकाले दुवैतर्फबाट अवतरण गर्न मिल्ने भएकाले त्यतिधेरै समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ ।