नुवाकोट– त्रिशूली नदीमा आएको भीषण बाढीबाट करिब एक सय ५० विद्यार्थी जोगाउन सफल भएका त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसहित करिब डेढ सय विद्यार्थीको शुक्रबार बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।
बाढीको सूचना पाएपछि बुधबार प्रधानाध्यापक दवाडीले विद्यालयमा रहेका विद्यार्थीलाई लिएर सुरक्षित स्थानतर्फ लगेका थिए । उनीहरू विद्यालयबाट निस्किएको केही मिनेटमै बाढीले विद्यालय भवन बगाएको थियो ।
विद्यालयबाट उद्धार गरिएका विद्यार्थी र प्रधानाध्यापकसहितको टोली त्यसपछि त्रिशूली नदीको माथिल्लो क्षेत्र कोलोनीमा दिनसम्म रोकिएका थिए । बाढीले त्रिशुलीको पुल बगाएसँगै सडक सम्पर्क विच्छेद भएपछि शिक्षक र विद्यार्थी अलपत्र परेका थिए ।
त्रिशूलीमा आएको बाढीले नयाँ र पुरानो दुवै पक्की पुल बगाएपछि नदी वारिका वारि र पारिका पारि नै रोकिएका हुन् ।
शुक्रबार बिहान हेलिकप्टरबाट उद्धार गरिएपछि प्रधानाध्यापक दवाडी र उनीसँग रहेका सबै विद्यार्थीलाई बट्टारस्थित श्री नम्बर–१ तालिम केन्द्र शित्रुलीसम्म ल्याइएको छ ।
उद्धारपछि दवाडीले सामाजिक सञ्जालमार्फत आफू र आफूसँग रहेका सबै विद्यार्थी सकुशल बट्टार आइपुगेको जानकारी दिएका छन् ।
‘आज बिहान हेलिकप्टरबाट ‘रेस्क्यू’ भई तीन दिनपछि सकुशल वारि बट्टार आउन सफल भईयो’, उनले लेखेका छन्, ‘मेरो साथमा रहेका सम्पूर्ण विद्यार्थीहरू पनि वारि व्यारेकसम्म आइसकेका जानाकारी गर्दछु ।’




प्रतिक्रिया