काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले लिएको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरूका लागि आचार संहिता जारी गरेको छ ।
त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले स्नातक, स्नातककोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीका लागि नयाँ आचारसंहिता र निर्देशन जारी गरेको हो ।
८ साउनमा एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि कार्यालयले परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन कडा परीक्षा आचारसंहिता जारी गरेको हो ।
आचारसंहिता अनुसार परीक्षामा सहभागी हुने सबै विद्यार्थीले अनिवार्य रूपमा तोकिएका नियम तथा निर्देशिकाको पालना गर्नुपर्नेछ । नियम उल्लंघन गर्ने विद्यार्थीहरूलाई विश्वविद्यालयको परीक्षा नियमावलीअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
यस्तै अब प्रत्येक परीक्षार्थीले परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको आधिकारिक प्रवेशपत्र हरेक दिन परीक्षा केन्द्रमा अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । साथै, परीक्षा केन्द्रले निर्धारण गरेको रोल नम्बरअनुसारको सिटमा बसेर मात्र परीक्षा दिनु पर्नेछ ।
परीक्षाको क्रममा केन्द्राध्यक्ष वा निरीक्षकको अनुमतिबिना आफ्नो सिट वा परीक्षा भवन छोड्न पनि नपाइने सूचनामा उल्लेख छ । यसका साथै परीक्षा सुरु भएको पहिलो एक घण्टाभित्र कुनै पनि परीक्षार्थी परीक्षा भवनबाट बाहिर निस्कन पाउने छैनन् ।
महाशाखाले मोबाइल फोन, स्मार्ट वाचलगायत सबै प्रकारका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक वा अन्य निषेधित सामग्री परीक्षा भवनभित्र लैजान पूर्ण प्रतिबन्ध लगाएको छ । यस्ता सामग्री फेला परेमा नियमअनुसार कारबाही हुने समेत उल्लेख गरिएको छ ।
त्यसैगरी अरुको नक्कल गर्ने, अरुलाई नक्कल गर्न सहयोग गर्ने, अरुको सट्टा परीक्षा दिने परीक्षा सञ्चालनमा अवरोध पुर्याउने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने जस्ता गतिविधिलाई पनि कडाइका साथ निषेध गरिएको छ ।
परीक्षा नियम तथा आचारसंहिताको उल्लंघन गरेको पाइएमा परीक्षा रद्द गर्ने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउने तथा आवश्यक परे कानुनी कारबाहीसमेत गरिने स्पष्ट उल्लेख गरिएको छ ।





प्रतिक्रिया