त्रिशूलीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु, तीन जना बेपत्ता


रसुवा – त्रिशूली नदीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा१०च ५८२० नम्बरको टाटा सुमो सोमबार साँझ रसुवास्थित मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

११ जना सवार टाटासुमो सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घलेको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए ।

दुर्घटनामा टाटासुमो चालक ३२ वर्षीय निमा तामाङ, ३५ वर्षकी जौरानी घले, ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन ।

घाइतेलाई त्रिशूली अस्पताल उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइते र मृतकको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement