काठमाण्डु– कुनै समय काठमाण्डु र तिब्बतबीचको व्यापारिक पुलको भूमिकामा रहेको ऐतिहासिक त्रिशुली बजार १० भदौको भोटेकोशी–त्रिशुली बाढीले क्षणभरमै बगरमा परिणमत भयो ।
१० भदौको बिहान ९ बजेसम्म गुल्जार बजारका कुनै पसल छैनन्, घर छैनन्, पुरानो चहलपहल छैन । छ त केबल बगर र पुरानो धार छाडेर बजारको बीचबाट बगिरहेको त्रिशुली ।
त्रिशूली बजार केवल एउटा स्थानीय बजारको इतिहास होइन । काठमाण्डु उपत्यकाका नेवार समुदायका व्यापारीहरूले तिब्बतसम्म व्यापार विस्तार गर्दा उनीहरूको आवागमनको एउटा महत्वपूर्ण कडीका रूपमा त्रिशूली क्षेत्र विकास भएको थियो ।
पाटन, काठमाण्डु र भक्तपुरबाट उत्तरतर्फ जाने व्यापारिक बाटोमा व्यापारीहरू सामान बोकेर हिमाली मार्गतर्फ लाग्थे । काठमाण्डु उपत्यकाका नेवार व्यापारीहरू शताब्दीयौँसम्म नेपाल–तिब्बत व्यापारका प्रमुख खेलाडी थिए ।
त्यही व्यापारिक परम्परासँग जोडिँदै पाटनका नेवार व्यापारी तथा व्यवसायीहरू पनि त्रिशूली क्षेत्रमा पुगे । व्यापार गर्न आउनेहरू बिस्तारै त्यहीँ बस्न थाले, पसल खोले र परिवारसहितको बस्ती विकास हुँदै गयो । यसरी व्यापारको बाटो हुँदै आएको समुदायले कालान्तरमा त्रिशूलीलाई आफ्नै घरजस्तो बनायो ।
मल्लकालको अन्त्यतिर बजारका रूपमा विकास हुन थालेको त्रिशूली शाहकालमा महत्वपूर्ण व्यापारिक केन्द्र बनेको इतिहास छ । पुरानो समयमा यसलाई साँघु बजार भनिन्थ्यो ।
तर, भोटेकोशी बाढीले इतिहासको चिनोका रुपमा रहेको यो बजारको वर्तमान नामेट पारिदियो । त्रिशूलीको कथा पुस्तौँसँग जोडिएको थियो । कसैका पुर्खा व्यापारका लागि त्यहाँ आए, त्यहीँ घर बनाए । कसैले त्यही बजारमा पसल खोलेर परिवार धाने । कसैको जन्म त्यहीँ भयो, कसैको बाल्यकाल त्यहीँ बित्यो। बजार उनीहरूका लागि व्यापार गर्ने ठाउँ मात्र थिएन, पुस्तौँको घर थियो ।
बाढीले बजारका अधिकांश घर तथा पसल बगाएको छ । कतिपय घर कहाँ थिए भन्ने छुट्याउनसमेत कठिन छ । वर्षौं लगाएर बनाएका घर, पसलभित्रका सामान र परिवारका सम्झनाहरू एकै भेलमा हराएका छन् ।
बजारका ६३ जना सम्पर्कविहीन छन् । नौ जनाको शव भेटिए पनि दुई जनाको मात्रै सनाखत भएको छ । बाँकी बेपत्ताको खोजी जारी छ । तर, आफन्तले जीवितै भेटिने आशा लगभग मारिसकेका छन् । त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन्द्रमान प्रधान अब पुरानै ठाउँमा बजार बस्ने सम्भावना शून्य प्रायः रहेको बताउँछन् । उनका अनुसार घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ । कसैको त घर कहाँ थियो भन्ने अनुमानसमेत गर्न कठिन छ । ‘अब फेरि बजार बस्ने सम्भावना म देख्दिनँ । अब बस्न पनि कोही जाँदैन होला’, उनले काठमाण्डु पाटीसँग भने, ‘मेरो घरको लाइनमै खोला बगिरहेको छ । मेरो विचरमा एउटा इतिहासको अध्याय नै समाप्त भयो ।’
त्रिशूली केवल नुवाकोट र रसुवासँग जोडिएको बजार थिएन । धादिङ, गोरखा, लमजुङ हुँदै पश्चिम नेपालतर्फ जाने व्यापारिक मार्गसँग जोडिएको यो महत्वपूर्ण बजार थियो ।
अब त्रिशूली बजार फेरि त्यही ठाउँमा उठ्ला कि नउठ्ला भन्ने प्रश्न छ । नदीको धार र किनारको स्वरूप नै बदलिएको अवस्थामा पुरानै ठाउँमा बस्ती पुनः विकास गर्न कठिन देखिन्छ । नयाँ ठाउँमा नयाँ बजार बन्न सक्छ । नयाँ घर बन्न सक्छन् । नयाँ पसल खुल्न सक्छन् । तर, पाटनबाट व्यापारको बाटो पछ्याउँदै पुस्तौंअघि त्रिशूली पुगेका परिवारहरूको त्यो पुरानो बजार भने फेरि उही रूपमा फर्केला या नफर्केला भन्ने प्रश्नको जवाफ कसैसँग छैन ।
‘यहाँ पाँच सय घरधुरी थिए । अब केही बाँकी छैन । बस्न लायक ठाउँ नै रहेन । सायद सरकारले पनि बस्न दिँदैन र दिनु पनि हुँदैन’, प्रधान भन्छन् ।
यसअघि पनि बाढी आउने गरेको तर, यो स्तरको बाढी आउला भन्ने कहिल्यै नसोचेको प्रधानले बताए । बाढीले छाडेको बगर हेर्दै स्थानीयहरू पुरानो बजार सम्झिरहेका छन् ।
‘हिजोसम्म जुन ठाउँलाई आफ्नो घर भन्ने मानिसहरु आज त्यही ठाउँ देखाएर ‘यहाँ हाम्रो घर थियो’ भन्नुपर्ने अवस्था आएको छ’, प्रधान भन्छन्, ‘भावी पुस्ताले यस्तो बगरमा पनि बजार थियो र भनेर प्रश्न गर्ने र त्रिशूली बजारको सम्झना मात्र बाँकी रहेका हामीले थियो भनेर बुझाउनुपर्ने भयो ।’
नेपाल उद्योग बाणिज्य महासंघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि त्रिशूली बजार पुनःस्थापनाको सम्भावना देख्दैनन् । धार परिवर्तन गरेर खोला बजारको बीच भागबाट बगेकाले बजार बस्न असम्भव रहेको उनले बताए ।
‘त्यो सम्भावना अब छैन । खोलामै बजार बनाउन कसरी सकिन्छ र ? खोला फर्कियो भने धेरै पछिको कुरा अहिले भन्न सकिएन । नत्र कसरी सकिएला र ?’, अध्यक्ष श्रेष्ठले काठमाण्डु पाटीसँग भने । उनले पनि ऐतिहासिक बजार इतिहासमा मात्र सीमित भएको उल्लेख गरे ।




प्रतिक्रिया