काठमाण्डु– त्रिशूली करिडोरका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, आयोजनाका प्राविधिक तथा विज्ञसहितको संयुक्त टोलीले विभिन्न स्थानमा उद्धार तथा खोजी अभियान सञ्चालन गरिरहेको हाे ।
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका क्रममा दुई जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका उनीहरूलाई हेलिकप्टरमार्फत काठमाण्डुस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याई उपचार भइरहेको छ। सोही क्रममा सुरुङबाट एक शवसमेत निकालिएको र थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा पनि उद्धार टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी त्यहाँ पुग्न एक्साभेटर र बबक्याटको प्रयोगबाट बाटो निर्माण तथा माटो पन्छाउने काम गरिरहेको छ। टोली अडिट–१ बाट ४२६ मिटरभित्र प्रवेश गरेको छ। साथै, अडिट–१ बाट एक्साभेटर भित्र प्रवेश गराई त्रिशूली–३ एसँग लिंकअप गराउने प्रयास भइरहेको छ।
त्यस्तै, लाङटाङ हाइड्रो आयोजनाको सुरुङमा नेपाली सेना र गैरसैनिकसहितको संयुक्त टोलीले खोजी गर्दा दुई वटा शव फेला पारेको छ। सुरुङभित्र थप खोज तथा उद्धार कार्य जारी रहेको छ।
चिलिमे हाइड्रो आयोजनामा भने नेपाली तथा विदेशी सदस्य सम्मिलित संयुक्त टोलीले जेनेरेटर र मड पम्पको प्रयोग गरी सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम गरिरहेको छ।
यसैगरी, माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले र्याफ्ट र बोटसमेत प्रयोग गरी खोजी गरिरहेको छ। सुरुङमा जम्मा भएको पानी निकाल्ने काम पनि भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा समेत विभिन्न उपकरण र प्रविधिको प्रयोग गरी सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिएको छ।




प्रतिक्रिया