काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय बैठकमा सहभागी हुन चीन पुगेका थिए । तर, उनीसँग बैठकका लागि खासै विस्तृत एजेन्डा थिएन र अमेरिकाका तर्फबाट कुनै स्पष्ट मागसमेत प्रस्तुत गरिएको थिएन ।
यसो हेर्दा यो बैठकबाट ट्रम्पले खासै उपलब्धि हासिल गर्न सकेको देखिँदैन । अन्ततः यस शिखर सम्मेलनका तस्बिर र त्यसले पारेको दृश्य प्रभाव नै यसको सबैभन्दा स्थायी सम्झना बन्न सक्ने देखिन्छ ।
राजनीतिक विश्लेषकहरू यसलाई प्रायः ‘अप्टिक्स’ अर्थात् दृश्य प्रभावको राजनीति भन्ने गर्छन् । कतिपयले यस बैठकलाई विश्वका प्रमुख शक्तिहरूबीचको ऐतिहासिक ‘याल्टा २.०’ बैठकका रूपमा समेत व्याख्या गरेका छन् ।
भव्य तामझाम र शानदार आयोजन नै अन्ततः अमेरिकी राष्ट्रपतिले सबैभन्दा बढी चाहेको विषय हुन सक्ने देखिन्छ । किनभने यसै महिनाको सुरुवातमा भएको मध्यावधि निर्वाचनमा उनको रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेको थियो ।
यस्तो अवस्थामा एसियाको तीनदिने भ्रमणका क्रममा विश्वभरको ध्यान आफूतर्फ केन्द्रित भएको र अमेरिका, रुस तथा चीनका नेताहरूबीच पहिलोपटक त्रिपक्षीय बैठक भएको ऐतिहासिक क्षणलाई उनले भरपूर आनन्द लिएको देखिन्छ ।
बुधबार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले एपेकको रात्रिभोजमा आफूलाई दिइएको प्रमुख स्थान र चीन पुग्दा गरिएको भव्य स्वागतबारे चर्चा गरे ।
उनले भने, ‘भव्य स्वागत, सुन्दरता, शानदार आयोजना र हजारौँ मानिसको उपस्थिति नै आफ्नो भ्रमण सफल भइसकेको प्रमाण हो ।’
यो सफलताको निकै सीमित मापदण्ड जस्तो लाग्न सक्छ । तर, अमेरिकी राष्ट्रपतिलाई सन्तुष्ट हुनका लागि यसले एउटा कारण भने दिएको हुन सक्छ ।
यद्यपि, अहिलेसम्म अमेरिकाले यस त्रिपक्षीय बैठकपछि असाधारण रूपमा निकै कम प्रतिक्रिया दिएको छ । चीनले वार्ताको विवरण समेटिएको संयुक्त वक्तव्य तत्काल सार्वजनिक ग¥यो । त्यस्तै, पुटिनले बैठकपछि करिब एक घण्टा लामो पत्रकार सम्मेलन गरेर आफ्नो धारणा विस्तृत रूपमा राखे ।
तर, ट्रम्पले सार्वजनिक रूपमा निकै कम टिप्पणी गरेका छन् । बरु उनले शुक्रबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्ने बताएका छन् ।
यस वर्षको सुरुवातमा चीन भ्रमणका क्रममा र गत अक्टोबरमा दक्षिण कोरियामा भएको एपेक शिखर सम्मेलनका बेला सी जिनपिङसँग भेट गरेपछि ट्रम्पले वासिङ्टन फर्किने क्रममा विमानभित्रै सञ्चारमाध्यमसँग कुराकानी गरेका थिए ।
अहिले भने ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यमार्फत यस वार्ताबारे आफ्नो धारणा प्रस्तुत गरिरहेको छ ।
तीन नेताबीचको भेटपछि जारी गरिएको उक्त वक्तव्यमा अधिकांशतः ‘रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा’ सुनिश्चित गर्ने प्रयासप्रति अस्पष्ट समर्थन मात्र व्यक्त गरिएको छ ।
विश्वका तीन शक्तिशाली नेताहरू एउटै कोठामा बसेर विश्वव्यापी मुद्दाहरूमा सौहार्दपूर्ण रूपमा छलफल गरिरहेको दृश्यले निकट भविष्यमा कुनै विनाशकारी द्वन्द्व नहुने केही आशा भने जगाउन सक्छ ।
तर, भविष्यमा पनि ‘संवाद’ जारी राख्ने प्रतिबद्धता र आणविक युद्ध ‘कहिल्यै लडिनु हुँदैन’ भन्ने स्वीकारोक्तिबाहेक वक्तव्यमा खासै ठोस उपलब्धि देखिँदैन ।
रिपब्लिकन पार्टीभित्र असहजता
अमेरिका–चीन सम्बन्धमा काम गर्ने बुश फाउन्डेसनका प्रमुख डेभिड फायरस्टिनले बीबीसीसँग भने, ‘समग्रमा हेर्दा विश्वका प्रमुख शक्तिका नेताहरू विभिन्न तरिकाले भए पनि एकै ठाउँमा आउनु सकारात्मक कुरा हो, परिणाम निकै सामान्य देखिए पनि ।’
‘परिष्कृत पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति’ प्रवद्र्धन गर्ने विषयमा गरिएको उल्लेख सम्भवतः पुटिनलाई लक्षित गरेर राखिएको हुन सक्छ । किनभने रुस अन्तर्राष्ट्रिय बजारमा जीवाश्म इन्धनको प्रमुख आपूर्तिकर्तामध्ये एक हो ।
यसका अतिरिक्त, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को आलोचनालाई पनि बेवास्ता गर्न सकिँदैन । पछिल्लो समय आईसीसी अमेरिकाको असन्तुष्टिको निशाना बन्दै आएको छ ।
विश्वका तीन प्रमुख शक्तिका नेताहरू कुनै एउटा विषयमा सहमत हुन सक्छन् भने त्यो अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन गर्ने प्रयासमा लागेका बहुपक्षीय विश्व संस्थाहरूसँग आफ्ना प्रयास अघि बढाउन पर्याप्त अधिकार हुनु हुँदैन भन्ने विषय हुन सक्छ ।
चीनमा रहँदा ट्रम्पले पुटिनलाई आफ्नो ‘मित्र’ भनेका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हात मिलाउनुका साथै अँगालो हालेपछि उनले सीसँग आफ्नो ‘उत्कृष्ट व्यक्तिगत सम्बन्ध’ रहेको भन्दै प्रशंसा पनि गरेका थिए ।
तर, वासिङ्टन फर्किएपछि ट्रम्पले आफ्नो एसिया भ्रमणबारे मिश्रित प्रतिक्रिया भएको राजनीतिक वातावरणको सामना गर्नुपर्ने हुन सक्छ । त्यस्ता प्रतिक्रियामा सामान्य चिन्तादेखि खुला आलोचनासम्म समावेश छन् ।
रिपब्लिकन पार्टीका युटाका सिनेटर जोन कर्टिसले बिहीबार बीबीसीसँग भने, ‘हामीले आफ्ना भूराजनीतिक प्रतिद्वन्द्वीसँगको सम्बन्धलाई कसरी प्रस्तुत गरिरहेका छौँ भन्ने विषयमा मलाई चिन्ता छ । भ्लादिमिर पुटिन र सी जिनपिङ हाम्रा मित्र होइनन् ।’
उनले थपे, ‘कूटनीति महत्त्वपूर्ण छ, तर त्यसका नाममा हाम्रा प्रतिद्वन्द्वी को हुन् भन्ने विषयमा रहेको स्पष्टता गुमाउनु हुँदैन ।’



प्रतिक्रिया