किन भयाे त्रिविमा नेविसंघ र अनेरास्ववियूबीच विवाद ?


काठमाण्डु- त्रिभुवन विश्वविद्यालयमा द्विपक्षीय विद्यार्थीहरुबीच झडप भएको छ । आइतबार विश्वविद्यालयले पत्रकार सम्मेलन गर्न खोज्दा द्विपक्षीय विद्यार्थीबीच झडप भएको हो ।

त्रिवि प्रशासनले पत्रकार सम्मेलनको आयोजना गर्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएको थियो । नेपाल विद्यार्थी संघ प्रश्नपत्र हुबहु सोध्ने प्राध्यापकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ भने एमाले निकट अनेरास्ववियूले तालाबन्दी खोल्ने चेतावनी दिएको छ ।

त्रिविले पत्रकार सम्मेलन गर्न खोजेपछि नेविसंघ र अनेरास्ववियूबीच विवाद भएको हो । सो क्रममा एक समूहले पत्रकार सम्मेलनस्थलमा ढुंगा प्रहार समेत गरेको थियो ।

उक्त घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयले लगातार विश्वविद्यालयमा आन्दोलन भएका कारण शिक्षक कर्मचारीमा त्रासको अवस्था सृजना भएको बताएको छ ।

यसैबीच त्रिविले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको दावी गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको दावी गरेका हुन्

। तर, उनले कारबाही गरिएकाहरुको नाम भने सार्वजनिक नगर्ने बताए । नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुने उनको भनाइ छ । त्रिविले गत जेठ १८ मा लिएको पब्लिक इकोनोमिक्स र २३ को इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोर्होयाएपछि विरोध भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement