त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइनबाट खोल्ने


काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि बढाउन लागिएको जानकारी विश्वविद्यालयले दिएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले यसै साता स्नातकोत्तर तहमा नयाँ भर्ना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि स्नातकोत्तर तहको पठनपाठन वैशाखबाटै गर्ने कार्यतालिका रहे पनि कोरोना (कोभिड–१९) प्रभावका कारण त्यो प्रभावित भएको थियो ।

यसका साथै स्नातक तहको कतिपय परीक्षाफल अझै प्रकाशित हुन बाँकी रहेका कारण पनि भर्ना प्रक्रिया अगाडि बढ्न नसकेको हो ।विश्वविद्यालयमा यो भर्ना खुलेपछि विद्यार्थीले व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, विज्ञान विषयमा स्नातकोत्तर तहमा भर्ना हुन पाउनेछन् । अनलाइनबाट भर्ना प्रक्रिया खुला गरिए पनि जनजीवन सामान्य भएको अवस्थामा थोरै विद्यार्थी भएका विषयमा भौतिक उपस्थितिमै पनि आवेदन दिन सकिने व्यवस्था मिलाइने जानकारी उनले दिए।

विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने जनाएको छ । स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ । अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन । त्रिविमा हाल स्नातक तहमा तीनवर्षे र चारवर्षे कार्यक्रम सञ्चालनमा छन् ।

शिक्षाध्यक्ष भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिए । उत्तरपुस्तिका परीक्षण सकिएको र उपत्यका बाहिरबाट उत्तरपुस्तिका आउने क्रममा रहेको उनले जानकारी दिए । उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले अब केही दिनमा नतिजा प्रकाशन गरिने उनको भनाइ छ ।-यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement