काठमाडौं – मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ। विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ। यो अपत्यारिलो सत्य हो।
बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन्। त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन्। मार्कसिट र ट्रान्सक्रिप्टमा पटकपटक दोहोरिने लापर्बाही, कर्मचारीको ढिलासुस्ती, सेवाग्राहीलाई हेयको भावले हेर्ने प्रवृत्ति, लामो लाम, कामको चाप यसका मुख्य विशेषता हुन्।
६० आंगिक र एउटा केन्द्रीय क्याम्पस भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भने एउटा मात्र छ। देशैभरका विद्यार्थीले सेवा लिन आउने भएकाले अत्यधिक चाप हुने गरेको यो कार्यालय कमजोर सेवा प्रवाहको उदाहरण भएको छ। पनिकाका समस्या एक-दुई मात्र छैनन्।
सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधिमैत्री बन्न सकेको छैन। केही महिनाअघि २४ घण्टाभित्र ट्रान्सक्रिप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन। त्यो सेवा पनि केही संकाय र तहका लागि सीमित गरिएको छ।
ट्रान्सक्रिप्ट निकाल्दा केही विद्यार्थीहरूको नाम र थर नै बिग्रिएर आउने गरेको छ भने केहीको उत्तीर्णाङ्क नै तल माथि परेर आउने गरेको छ। कतिपय विद्यार्थीको नाम, ठेगाना नै फरक पर्ने गरेको छ। उत्तीर्ण विद्यार्थीहरूको पनि नतिजा अनुत्तीर्ण भएर आउने गरेको छ। जसको प्रत्यक्ष मारमा विद्यार्थी परेका छन्। पनिकाको गैरजिम्मेवारीपन र बेवास्ताका कारण ट्रान्सक्रिप्ट निकाल्न विद्यार्थीहरूले १५ दिनदेखि एक महिनासम्म कुर्नुपर्ने बाध्यता छ। यो खबर आजको राजधानी दैनिकमा छ ।




प्रतिक्रिया