त्रिविमा अनलाइन पठनपाठन : स्नातकोत्तरका पढ्दै, स्नातकको अत्तोपत्तो छैन


काठमाडौँ –  त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।

कोरोना भाइरसको सङ्क्रमणपछि विश्वविद्यालयले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी अनलाइन कक्षा सञ्चालनमा ल्याउन वैशाख पहिलो साता क्याम्पसलाई निर्देशन दिएको थियो । विश्वविद्यालयको निर्देशनपछि धेरै क्याम्पसले विद्यार्थीको सेमेस्टर खेर नजाने गरी वैशाख दोस्रो साताबाटै अनलाइन कक्षा सञ्चालनमा ल्याएका थिए ।

पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले स्नातकोत्तर तहमा सञ्चालित अनलाइन कक्षा प्रभावकारी हुँदै गएको बताउनुभयो । क्याम्पसले व्यवस्थापनतर्फ एमबीएसमा प्रथम, दोस्रो र चौथो सेमेस्टरको पढाइ अनलाइनबाट सञ्चालन गरेको हो । क्याम्पस प्रमुख थापाका अनुसार चौथो वर्षका विद्यार्थीलाई प्रस्तावना लेखन तथा शोधपत्र लेखनको कक्षा चलाइएको छ ।

यसमा ८० प्रतिशत विद्यार्थीको सहभागिता छ । साथै पहिलो र दोस्रो सेमेस्टरका कक्षा पनि सञ्चालन गरिएका छन् र यसमा विद्यार्थीको परीक्षा हुन बाँकी रहेका विषयको मात्र पठनपाठन सञ्चालन गरिएको छ । यसमा झण्डै ५० प्रतिशत विद्यार्थीको सहभागिता छ ।

स्नातक तहमा भने अनलाइन कक्षाको प्रभावकारिता न्यून छ । स्नातकमा बीबीए तहको कक्षाको दोहो¥याएर पढाउने छ भने बीबीएस प्रथम वर्षमा क्याम्पसले अनलाइन कक्षा सञ्चालनमा त ल्याएका छन् तर एक हजार विद्यार्थीमा ३० विद्यार्थीको पनि सहभागिता छैन । स्नातक तहका विद्यार्थी पनि खोज्यौँ, धेरै पहाडी जिल्लाका विद्यार्थी घरमा पुगेका छन्, उनीहरूसित अनलाइनको पहुँच नभएका कारण कक्षा प्रभावकारी हुन सकेको छैन –क्याम्पस प्रमुख थापाले बताउनुभयो ।

शिक्षा शास्त्रको पठनपाठन हुने राजधानीको महेन्द्ररत्न क्याम्पसमा स्नातकोत्तर तहमा अध्यापन हुने नौवटा विषयमा वैशाखबाटै अनलाइन कक्षा सञ्चालन भइरहेको छ । शिक्षकलाई आवश्यक तयारी गरेर अनलाइन कक्षा सञ्चालन गरिएको उल्लेख गर्दै क्याम्पस प्रमुख कृष्णप्रसाद ढकालले केही विषयमा ८० प्रतिशतसम्म विद्यार्थीको सहभागिता रहेको जानकारी दिनुभयो ।

सो क्याम्पसमा पनि स्नातक तहको कक्षा सञ्चालन हुन सकेको छैन । क्याम्पसमा स्नातक तहमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने भए पनि अझै विद्यार्थीसित क्याम्पसले सम्पर्क स्थापित गर्न सकेको छैन ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement