यसरी मनाइयो टुँडिखेलमा प्रजातन्त्र दिवस (फाेटाे फिचर)


काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरि मनाइएको छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायत सहभागि भएका हुन् ।

राष्ट्रपति पौडेललाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा शान्तिको कामना गर्दै सेतो परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका विभिन्न ब्यान्डले राष्ट्रिय गीतको धुन प्रस्तुत गरेका थिए । सो समारोहमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

प्रजातन्त्र दिवसमा २००८ सालपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउन आह्वान गरेको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement