टुँडिखेलमा मनाइयो सेना दिवस (तस्बिरहरू)


काठमाण्डु – सेना दिवस एवं महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ । शुक्रबार सेनाले २६१औं सेना दिवस मनाएको हो।

हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्स्कृतिक कार्यक्रम र शाहसिक खेलहरु प्रस्तुत गरेको थियो ।

यस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो । सैनिक मञ्चमा आयोजित समारोहमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाज, प्यारासुटलगातका प्रस्तुति देखाइएको छ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल छ ।

सैनिक वीरपूर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहन्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले सेना सबैको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार आठ सय ९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७३ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६८ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ६ सय ६२ महिलासहित पाँच हजार आठ सय ९० नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पहिलो स्थानमा छ ।

विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्त सहभागीले यसलाई पुष्टि गरेको छ ।

विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ-तराई मधेस दूर्तमार्गको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement