प्रसारण लाइन नबन्दा टुंगुन/ठोस्ने खानी खोलाको २ वर्षदेखि विद्युत खेर


काठमाडौं– नेपाल विद्युत प्राधिकरणले समयमा प्रसारण लाइन तयार नगरेपछि झन्डै २ वर्ष हुँदासम्म ललितपुरमा निर्माण भएको ६.३४ मेगावाटको टुंगुन/ठोस्ने खानीखोलाको विद्युत जोडिन सकेको छैन ।

प्राधिकरणको यो लापरबाहीले प्रवर्द्धकले अहिलेसम्म करोडौं रुपैयाँ नोक्सान बेहोर्नु परेको छ । प्राधिकरणले कहिलेसम्म प्रसारण लाइन निर्माण गर्छ भन्ने अझै यकिन छैन ।

मातातीर्थ सबस्टेसनदेखि ३४ किलोमिटर टाढा ललितपुरको माल्टासम्म ३३ केभी प्रसारण लाइन निर्माण गर्नुपर्छ । २०७१ को सुरुमा काम सुरु भएका २ जलविद्युत आयोजना ३ वर्ष नहुँदै पूरा भएका थिए ।

टुंगुन/ठोस्नेले २०७३ कात्तिक ९ गते र खानी खोलाबाट २०७३ मंसिर २० गतेदेखि विद्युत उत्पादन गरिरहेका छन् । आवश्यक ३३ केभीको लाइन नहुँदा ११ केभीको फर्पिङ र दक्षिण ललितपुर फिडरमा जोडिएको छ । जसका कारण उत्पादित पूरै विद्युत खपत हुन सकेको छैन ।

खानी खोला हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेको दुवै आयोजनाबाट बैशाख १ गत आर्थिक वर्षसम्म ३ करोड १० लाख ५९ हजार युनिट विद्युत खेर गएको छ । प्राधिकरणले दुवै आयोजनासँग बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँमा पिपिए विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

उक्त खरिद दरका आधारमा गत असारसम्म कम्पनीले करिब १६ करोड ७० लाख रुपैयाँ गुमाएको छ । पिपिए हुँदा समयमा प्रसारण लाइन नबने प्राधिकरण र आयोजना नबने प्रवर्द्धकले ५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान छ । तर, ५ प्रतिशत क्षतिपूर्तिले कम्पनीको नोक्सान सम्बोधन हुन सक्दैन ।

प्राधिकरणकै लापरबाहीले समयमा प्रसारण लाइन निर्माण नभएको भन्दै कम्पनीले क्षतिपूर्ति दाबी गरेको छ । दुवै आयोजनाबाट अहिलेसम्म भएको घाटा रकम प्राधिकरणाले दिनुपर्ने कम्पनीका अध्यक्ष विजयमान शेरचनले बताए । मन्त्रालयले सुनुवाई नगरे मुद्दा हाल्नेसमेत उनले चेतावनी दिएका छन् ।

कम्पनीले पटक–पटक मन्त्रालयलाई प्रसारण लाइन छिटो निर्माण गरी विद्युत जोड्ने व्यवस्था मिलाइदिन आग्रह गर्दै आएको छ । शेरचनले गत साउन ४ गतेमात्र राष्ट्रिय योजना आयोग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, गृह मन्त्री लगायत निकायलाई बोधार्थ लेखी पत्राचार गरेका छन् ।

औद्योगिक पूर्वाधार विकासअन्तगृत उद्योग विभागबाट लक्ष्मी सिमेन्टका लागि माल्टा सबस्टेसन र ३३ केभी लाइन निर्माण अघि बढाइएको थियो । प्रसारण लाइन निर्माणको ठेक्का पाएको बंगलादेशको इनर्जी प्याक इन्जिनियरिङले अहिलेसम्म काम पूरा गरेको छैन ।

जय दुर्गे कम्पनीले जिम्मा लिएको माल्टा सबस्टेसन भने यसअघि नै पूरा भएको छ । ३४ किलोमिटर लाइनमध्ये अझै ५ किलोमिटरमा पोल गाडिएको छैन । यस्तै, करिब ६ किलोमटिरसम्म मात्र तार तानिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement