उर्जामन्त्रीले युएईमा भने ‘पहिले गरीवी र पछौटेपनविरुद्ध लडौ,राजनीति पछि गरौला ’ 


युएई– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको छ । विश्व उर्जा सम्मेलनमा भाग लिन अब्बुधावी आउनुभएका मन्त्री पुनले नेपाली राजदूतावासमा नेपाली समूदायसंग आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न नेपाली समुदायका प्रतिनिधिलाई आग्रह गर्नुभयो । 

‘अहिले लगानीको लागी नेपालमा उपयुक्त वातावरण बनेको छ, सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेर आकर्षक आयोजना अघि बढाएको छ, तपाईहरुले पनि यसमा लगानी गरेर प्रतिफल लिनुहोस । ’ मन्त्री पुनले भन्नुभयो । 

उहांले विदेशमा रहेका नेपालीलाई लक्षित गरेर उर्जामन्त्रालयले रेमिट हाईड्रोको सुरुवात गर्ने तयारी गरेको जानकारी दिदैं त्यसमा लगानी गर्न आग्रह गर्नुभयो । सम्पुर्ण जनतालाई जलविद्युतसंग जोड्न सरकारले जनताको जलविद्युत कार्यक्रम समेत संचालनमा ल्याएको भन्दै त्यसमा सहभागी हुन समेत उहांले नेपाली समुदायसंग प्रतिनिधिसंग आग्रह गर्नुभयो । 

 मन्त्री पुनले युएईमा बसेर देशको अर्थतन्त्रमा योगदान पुर्याएकोमा धन्यवाद दिदै यहां सिकेको ज्ञान र अनुभव समेत लिएर देश फर्कन आग्रह गर्नुभयो । 

उहांले फरक राजनीतिक विचार र आस्थाले कुनै फरक नपर्ने भन्दै देशको हित सोच्नु सबै सचेत नागरिकको पहिलो कर्तव्य भएको बताउनुभयो । ‘हाम्रो विचार,आस्था र सोच फरक हुनसक्छ, तर पहिलो कुरा देश हो । विकास र समृद्धि सवै विचार बोक्ने नागरिकलाई चाहिएको छ । त्यसैले हामि सबै मिलेर गरीवी र पछौटेपनविरुद्ध मिलेर लडौ ।’ मन्त्री पुनले भन्नुभयो । 

नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री पुनले सरकारले पहिलो वर्ष नितिगत काममा ध्यान दिएको भन्दै यो वर्ष कामले गति लिने दावी गर्नुभयो । 

सरकारले भ्रमण वर्ष २०२० संचालन गर्ने तयारी गरेको जानकारी दिंदै मन्त्री पुनले २० लाख पर्यटक भित्रयाउन सरकारले पुर्वाधारको तयारी गरिरहेको जानकारी दिनुभयो । 

मन्त्री पुनले कार्यक्रममा भन्नुभयो‘अहिले देशमा राजनीतिक र नितिगत स्थिरता छ, पर्यटक क्षेत्र पनि फस्टाउंदो अवस्थामा छ, त्यसका लागी पुर्वाधार निर्माणको काम पनि भइरहेको छ । भैरहवा र पोखरा एयरपोर्ट पनि चांडै संचालनमा आउंदैछ । नेपालको अर्थतन्त्रमा ५३ प्रतिशत योगदान सेवा क्षेत्रको छ,यसमा पनि तपाईहरुले पनि लगानी गर्नुहोस् ।’ 

उहांले १८ महिनामा लाइसेन्स लिएर काम नगर्ने १ सय ९ वटा जलविद्युत कम्पनीको लाईसेन्स खारेज गरेको जानकारी दिंदै आगामी दिनमा निर्माणको चरणमा गएपछि मात्र लाइसेन्स दिने गरी सरकारले नियम बनाउने तयारी थालेको जानकारी दिनुभयो । 

विदेशमा रहेको नेपाली राजदूतवासले नेपाली नागरिकको सुरक्षा र सहयोगमा ध्याज पुर्याउनुपर्ने मन्त्री पुनको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस
Advertisement