सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने : मन्त्री ज्ञवाली


काठमाडौं –नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ मा नेपालमा उच्चस्तरीय अन्र्तराष्ट्रिय भ्रमणहरु हुने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले सन् २०१८ मा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने र नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने स्पष्ट पारे । उनले भने,‘सन् २०१८ मा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन् यो हिसावले पनि सन् २०१८ नेपालको लागि महत्वपूर्ण हुनेछ ।’

भारतले नेपालसंग नयां ढंगले सम्बन्ध विकास गर्न खोजेको सन्देश दिईसकेकाले आफूहरु त्यसप्रति पूर्ण सकारात्मक रहेको ज्ञवालीको भनाई थियो । उनले भने,‘त्यही कुरामा टेकेर हामी पनि सम्बन्ध नयां उचाईमा पुर्याउंछौं, यो बीचमा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, हामी गृहकार्यमा जुटिसकेका छौं।’ ज्ञवालीले प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुनसक्ने संकेत गरेका छन् ।

हालै नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिईएको र चिनियां राष्ट्रपति जिनपिङ सन् २०१६ मै नेपाल आउने तयारी गरेकोले २०१८ मा दुवै जना नेपाल आउने उनको भनाई थियो । त्यसैगरि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेश भ्रमण चांडै गर्ने सुनाए । उनले भने,‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा हामी जुटिसकेका छौं।’

त्यस्तै उनले चीनबाट पनि उच्चस्तरीय भ्रमण हुनेमा आफू पूर्ण आशावादी रहेको र सोही अनुसार अब गृहकार्य अघि बढाउने स्पष्ट पारे । उनले भने,‘चीनको राष्ट्रपतिसंग मैले भेटेर यसअघि पनि कुरा गरेको छु, उहां नेपाल आउन सकारात्मक हुनुहुन्छ, चीन सकारात्मक छ।’ उनले दुवै छिमेकी मुलुक भारत र चीनसंगको सम्बन्धलाई अझ सुदृढ बनाउंदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे । ज्ञवालीले भने,‘‘नेपाल छिमेकीको कुभलो चिताउंदैन, छिमेकीसित अझ सुदृढ सम्बन्ध राख्छ ।’’

उनले भने,‘परराष्ट्रमन्त्रीको हैसियतले र नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले यसलाई सक्रिय बनाउन भूमिका खेल्छु, त्यस्तै विमस्टेक लगायतका क्षेत्रिय संगठनहरुमा नेपालको तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्छु।’ त्यस्तै उनले यु.एन. शान्ति मिशनमा सबैभन्दा सेना पठाउने राष्ट्रहरुमा नेपाल ६ औं राष्ट्रमा पर्ने भएपनि नेपालको पहुंच कमजोर रहेकोले त्यसमा पनि ध्यान दिने बताए ।

फरक प्रसंगमा उनले हालै भएको पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण सद्भाव भ्रमण भएकोले यसलाई अन्य रुपमा टिप्पणी गर्न नहुने धारणा राखे । उनले भने,‘उहां प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन आउनुभएको हो, भेटघाटमा स्थगित रहेको सार्क सम्मेलनलाई तत्काल गराउन पहल गरिने विषयमा कुरा भयो, त्यस्तै द्धिपक्षीय सम्बन्धको बारेमा पनि कुरा भएको हो ।’

सिरियामा भएको मानवीय संकटमा पनि आफूहरुको चासो रहेको ज्ञवालीले सुनाए । उनले भने,‘संयुक्त राष्ट्रसंघले युद्धविराम आह्वान गरिसकेको छ, मानवीय दृष्टिकोणले सकेसम्म युद्ध अन्त्य गर्नुपर्छ, नभए युद्धविराम गर्नुपर्छ, शक्तिराष्ट्रहरुको स्वार्थको कारण सिरियामा मानवीय संकट भएको हो।’मन्त्री ज्ञवालीले संघीय समाजवादी फोरम नेपालपनि छिट्टै सरकारमा सहभागी हुने विश्वास दिलाए । उनले थपे,‘उहांहरु आउनुहुन्छ, विश्वस्त हुनुहोस्।’

प्रतिक्रिया दिनुहोस
Advertisement