काठमाण्डु – नेपाली सेनाले बाढी, पहिरो, डुबान लगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार गरेको छ ।
गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलाञ्चोक, सिन्धुली, मकवापुर, ललितपुर र काठमाण्डुबाट गरी सोमबार साँझसम्म ७१३ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
‘बीपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका ५३२ जनाको त्यहाँबाट उद्धार गरी सुरक्षित स्थान सार्नुका साथै घाइतेहरूलाई अस्पतालसम्म पुर्याइएको छ,’ प्रवक्ता तिवारीले भने, ‘निजी हेलिकोप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ ।’
गत शनिबारदेखि सोमबार साँझसम्म हवाइ उद्धारमा सेनाका ३ वटा हेलिकोप्टर परिचालित थिए । ‘हवाइ उद्धारको कार्य अन्तिम–अन्तिम चरणमा पुगेको छ,’ प्रवक्ता तिवारीले भने, ‘आवश्यकताअनुसार भोलिबाट पनि हवाइ उद्धार हुन्छ ।’
सेनाको टोलीले उद्धारसँगै हवाइ साधनमार्फत राहत सामग्री समेत प्रभावित क्षेत्रमा पुर्याउँदै आएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरका साथै राहत वितरणको कार्य समेत गृह मन्त्रालय गरिरहेको छ ।
विपद्का घटनामा सुरक्षाकर्मीहरूले मुलुकभरका प्रभावित क्षेत्रबाट ४ हजारभन्दा बढीको सकुशल उद्धार गरेको छ । सोमबार साँझसम्म विपद्मा परी २०९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार विपद्का कारण अवरुद्ध राजमार्गहरू तीव्र रूपमा सुचारु भइरहेको छ भने कतिपय बढी प्रभावित राजमार्गमा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ ।
प्रतिक्रिया