सप्तरीमा ४ अर्ब लगानीमा ६ वटा उद्योग खोलिदै

सप्तरीमा ४ अर्ब लगानीमा ६ वटा उद्योग खोलिदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा– सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र ४ अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छ वटा उद्योगको निर्माण हुने जनाइएको छ ।

जसमा आँप, फर्सी, कटहर, तरबुजालगायत फलफूलको जुस प्याकेट बनाउन ‘पल्प’ उद्योग निर्माण गरिने छ । आँपको समयमा किसानले उत्पादन गरेका आँप दिनको १० ट्रकका दरले खरिद गरिने छ । यसबाट यहाँका किसानले आँपको बजार र मूल्य नपाउने समस्या समाधान हुने बताइएको छ । त्यसैगरी, २ हजार मेट्रिक टनको ‘कोल्ड स्टोरेज’ स्थापना गरी किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि हुने समस्या हटेर जाने सञ्चालक न्यौपानेको भनाइ छ ।

उनका अनुसार भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन गर्ने उद्योगको पनि स्थापना गरिने छ । त्यसैगरी, अन्य उद्योगमा सिसा र बोटल उद्योग, ‘बिटुमिन’का पेन्टस् उद्योग र सौर्य प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्नेगरी उद्योगको संरचना निर्माण र सञ्चालन गर्न करिब दुई वर्षको समय लाग्ने उनले बताए । “त्यसले पाँच सय जनालाई प्रत्यक्ष र पाँच हजार परिवारलाई अप्रत्यक्ष रोजागारीको अवसर सृजना हुन्छ”, सञ्चालक न्यौपानेले भने ।

परियोजनाका प्रबन्धक भीष्म रेग्मीका अनुसार यस यौद्योगिक क्षेत्रको सबै संरचना निर्माणका लागि ४ अर्ब लागत अनुमान रहेको छ ।