सहज छैन एमालेलाई संघीय चुनाव जित्न !


काठमाण्डु – राजनीतिक दलहरू पछिल्लो समय संघीय निर्वाचनको तयारीमा होमिएका छन् । सरकारले संघ र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेका हुन् ।

राजनीतिक दलहरुले चुनावी तालमेलका लागि भेटवार्ता जारी राखेका छन् । सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने र सिट बाँडफाँटका लागि कार्यदल नै बनाएर अघि बढेको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने चुनावी तालमेलका लागि अन्य दलसँग पहल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन् । सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने र सिट बाँडफाँट लागि कार्यदल नै बनाएर अघि बढ्दा एमाले भने एक्लै चुनावको तयारीमा जुटेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनविरुद्ध आफूहरू एक्लै चुनावमा जान तयार रहेको बताएका छन् । उनले नेकपा एमालेले नै संघीय चुनाव जित्ने दाबीसमेत गरे ।  ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देशलाई निकास दिने भनेको एमाले नै हो । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।

पाँच दलीय गठबन्धनविरुद्ध चुनाव लड्न हामी तयार छौँ ।’ केही दिन अगाडि काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भनेका थिए । तर, ओलीले भने जस्तो नेकपा एमालेले बहुमत ल्याउने सम्भावना भने कम देखिएको छ ।

किन भने संघीय निर्वाचनमा हालको गठबन्धन कायमै रहे नेकपा एमालेलाई ठुलो धक्का लाग्ने निश्चित नै देखिएको छ ।  गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले पनि संघीय निर्वाचनमा गठबन्धनले तालमेल गरेको खण्डमा नेकपा एमालेलाई धक्का लाग्ने पक्का पक्की नै देखिएको हो । अध्यक्ष ओली गठबन्धन भए पनि आफूहरूलाई पराजित गर्न नसक्ने जसरी प्रस्तुत भइरहेका छन् । कार्यकर्तामा उत्साह भर्न समकालीन नेतामा उनी अग्रस्थानमा आउँछन् ।

उसो त संघीय निर्वाचन आउँन साढे तीन महिना भन्दा लामो समय छ । त्यसकारण यसबीचमा देशको राजनीति कता जान्छ भन्न सकिने अवस्था भने तत्काल छैन् । कुन दलको कुन दलसँग तालमेल हुन्छ भन्नेबारे अहिले नै भन्न सकिने अवस्था भने छैन् । किन भने सत्ता गठबन्धनमा भागबन्डामा कुरा नमिले गठबन्धन फुट्न सक्ने परिस्थिति पनि आउन सक्छ । तर, पछिल्लो अवस्थालाई हेर्दा भने चुनाव जित्न एमालेलाई सहज भने देखिएको छैन । 

मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलसँग तालमेल गर्दा त्यसको प्रत्यक्ष असर एमालेमाथि पर्ने छ । आगामी निर्वाचनसम्म उक्त गठबन्धनलाई भत्काउन खोज्नु एमालेको पहिलो अस्त्र रहेको छ । नेकपा एमालेले यस भन्दाअघि पनि हालको गठबन्धन फुटाउन खोजेपनि सफल हुन भने सकेको छैन् ।

एमालेले तराईमा सिट संख्या बढाउने गरि लोसपा र अन्य क्षेत्रीय दलसँग गठबन्धन गरेर सत्ता गठबन्धनलाई चुनौती दिन प्रयास गरिरहेको छ । तर त्यसको सम्भावना पनि लगभग सकिएको एमाले नेताहरुले बताएका छन् । लोसपासँग नेपाली कांग्रेसले कुराकानी गरिरहेको छ र छलफल सकारात्मक भएको देखिएको छ । त्यसकारण पछिल्लो राजनीतिक अवस्था अनुसार संघीय निर्वाचन जित्न नेकपा एमालेलाई सहज देखिएको छैन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement