राष्ट्रिय सहमतिमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्छन्ः प्रदीप ज्ञवाली


काठमाण्डु- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् ।

शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेको उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दावी गरेका हुन् । नेकपा एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने उनको धारण छ ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्ने नेता ज्ञवालीले जिकिर गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने राष्ट्रपति निर्वाचितमा राष्ट्रिय सहमति हुनु पर्ने माग गरेका छन् ।

पछिल्लो समय नेकपा एमाले र माओवादी केन्द्रको सम्बन्ध चिसिदैँ गएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सत्ता गठबन्धनमा राष्ट्रपति निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनाउने सहमति भइसकेको दावी गर्दै आएका छन् ।

यता माओवादी केन्द्रले भने सभामुख र राष्ट्रपति पद एउटै पार्टीको हुन नसक्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement