रास्वपा एमालेको पछि लागेको छैन: रवि लामिछाने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको बताएका छन् । बिहीबार काठमाण्डुमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले रास्वपाले अन्य पार्टीको लयमा लागेर कुनै पनि निर्णय गर्ने नगरेको बताएका हुन् ।

पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षीनिकट भनेर आरोप लाग्ने गरेको सभापति लामिछानेको भनाइ छ । उनले आफ्नो पार्टी छुट्टै प्रतिपक्ष भएकाले प्रमुख प्रतिपक्ष एमालेको पछि नलागेको पनि बताए ।

‘प्रतिपक्षमा एमाले ठूलो दल होला तर, हामी एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लाग्ने हो । न हिजो हामी माओवादीको पछि थियौं, न कांग्रेसको पछि थियौं, न एमालेको पछि हौं ।’, उनले भने ।

त्यस्तै लामिछानेले आफू सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । ‘उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौं । उहाँहरूको जे समझदारी भएको छ त्योअनुसार नै गठबन्धन गए हुन्छ । हामी संगठन निर्माणमा नै लागेका छौं । हामी सरकारमा जाने रेसमा छैनौं । हामी स्थायित्वका पक्षमा छौं । जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहन्छौं र जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै हो ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement