एमाले संसदीय दलको बैठकमा नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित


काठमाण्डु – नेकपा एमाले संसदीय दलको बैठकले उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आज बिहीबार अपराह्न संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

एमालेले दिवंगत पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष नेम्वाङको फोटो राखेर बैठकमा शोक प्रस्ताव पारित गरेको छ । यसअघि संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओली र नेम्वाङ एकै ठाउँमा सँगै बस्ने गरेका थिए तर आजको बैठकमा नेम्वाङ बस्ने आसन खाली राखिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकले पनि संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबार बिहान १ः४० बजे निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement