एमाले प्रतिनिधि परिषद् बैठकका लागि अध्यक्षको राजनीतिक प्रतिवेदन पारित


काठमाण्डु – बैशाख ८ र ९ गते गोदावरीमा आयोजना हुने नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीले तयार गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।

आईतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने कामका समीक्षा सम्बन्धी प्रतिवेदन, पार्टीका ४ वटा आयोगले पनि आफ्नो कामको प्रगति विवरण पेश गर्ने तय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेलाई आगामी निर्वाचनमा राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउने गरी परिषद् बैठकमा छलफल हुने उनले बताए ।

ज्ञवालीले भने, ‘त्यो बैठकमा महाधिवेशनका प्रतिनिधिहरू २ हजार १५३ जना सहभागी हुनुहुनेछ । महाधिवेशनपछि थपिनुभएका केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद्, निर्वाचन आयोग, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका साथीहरू पनि त्यसमा सहभागी हुनुहुनेछ भने २५ सय जतिको यो कार्यक्रम हुन्छ । त्यसमा अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको कामको लेखाजोखा सम्बन्धी प्रतिवेदन र ४ वटा आयोगको प्रतिवेदनमाथि व्यापक छलफल गर्छौं र हाम्रो पार्टीलाई आगामी निर्वाचनमार्फत निर्णायक राजनीतिक शक्ति बनाउनका निम्ति हाम्रा कामहरू के हुन् भन्ने बारेमा छलफल हुनेछ र १० गते हामीले हाम्रो पार्टी स्थापनाको ७५औंं वर्ष पूरा भएर ७६औं वर्षमा प्रवेश गर्दैछौं । त्यसमा विशेष इभेन्ट हामीले आयोजना गर्दैछौं । त्यसमा नेपाली कम्युनिष्ट आन्दोलनका अहिलेसम्मका इतिहास झल्काउने डकुमेन्ट प्रस्तुत गर्नेछौं । झुलाघाट, चिवाभञ्ज्याङ संकल्प यात्रा, जाजरकोट लगायतका भूकम्पका बेला पार्टीले चलाएको स्वयंसेवक परिचालन, निर्वाचन लगायतका केही मेजर इभेन्टहरू पनि हुन्छन् । देशका प्रमुख राजनीतिक दलहरूका नेताहरूले त्यहाँ सम्बोधन गर्नुहुनेछ ।’

बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष पूरा गरेको उपलक्ष्यमा प्रमुख राजनीतिक दलहरूको सहभागितामा विशेष कार्यक्रम पनि वैशाख २० गते आयोजना गर्दैछ । त्यसमा प्रमुख राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने र कम्युनिष्ट पार्टीका मुख्य–मुख्य गतिविधि समावेश गरेर बनाइएको डकुमेन्ट्री पनि प्रस्तुत हुने उपमहासचिव ज्ञवालीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement