एमाले र माओवादी एकता : प्रतिवेदनलाई बुधबार अन्तिमरुप दिने सहमति


काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ ।

सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदलको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

“मस्यौदामाथि दुवै पक्षले आ–आफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्य दलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ ।” उनले भने ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल संयोजक रहेको उक्त कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघु पन्त र सुवास नेम्वाङ तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् ।

कार्यदलले तयार गरेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउनेछ । दुवै पार्टीका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममार्फत पार्टी एकता अब छिट्टै हुने घोषणा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement