एमालेले भन्योः बालेनसहित रास्वपा नेताको उदयमा विदेशी संस्थाको भूमिका रहेको समाचार के हो, जवाफ चाहियो

एमालेले भन्योः बालेनसहित रास्वपा नेताको उदयमा विदेशी संस्थाको भूमिका रहेको समाचार के हो, जवाफ चाहियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भन्ने ‘द ग्रे जोन’ मा प्रकाशित दाबीबारे सरकारले जवाफ दिनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेका घटनासँग जोडेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्री गम्भीर प्रकृतिका रहेको भन्दै त्यसमा उठाइएका प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताए ।


उनले द ग्रे जोनले प्रधानमन्त्री शाहसहित रास्वपाका केही प्रमुख नेताको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको सहयोग रहेको दाबी गरेको उल्लेख गर्दै त्यसबारे स्पष्ट पार्न माग गरे ।

‘यसको जवाफ चाहिन्छ, जवाफबाट कोही पनि भाग्न पाउँदैन,’ पोखरेलले भने, ‘सरकारले जवाफ दिनुपर्छ, नाम जोडिएकाहरूले जवाफ दिनुपर्छ ।’

पोखरेलले भदौ २३ र २४ गते सिंहदरबारसहित सरकारी, व्यावसायिक, निजी तथा राजनीतिक दलका कार्यालयमा भएको आगजनीका विषयमा समेत प्रश्न उठाए ।

उनका अनुसार आगजनीमा तालिमप्राप्त समूहको संलग्नता र रासायनिक पदार्थ ‘पोडियम म्याग्नेसियम’ प्रयोग भएको विषय यसअघि नै ‘द न्युयोर्क टाइम्स’ ले समाचार प्रकाशित गरिसकेको छ ।

भदौ २३ र २४ गतेका घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई सरकारले गम्भीर रूपमा लिएर त्यसमा उठेका प्रश्नको तथ्यसहित जवाफ दिनुपर्ने उनको भनाइ थियो ।