कारोबारीले चन्दा नदिएपछि प्रचण्डले सेयर बजार डुवाउन खोजे : एमाले अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारका बारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

प्रचण्डले केही दिनअघि मात्र अर्थमन्त्री जनार्दन शर्मामाथी भइरहेको विरोधको प्रतिवाद गर्दै सेयर बजारलाई पुजिंवादको विकसित रुपको संज्ञा दिएका थिए ।

उनको अभिव्यक्तिको चौतर्फी विरोध भएपछि मंगलवार अर्थमन्त्री शर्माले सेयर लगानीकर्ताका प्रतिनिधीहरुलाई अर्थमन्त्रालयमा बोलाएर छलफल गरेका थिए । उनले सेयर बजारमा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

एमालेका मानोनित केन्द्रीय सदस्यहरुलाई सपथ दिलाउने कार्यक्रममा बुधवार बोल्दै अध्यक्ष ओलीले सेयर कारोबारीले चन्दा नदिएको रिसमा प्रचण्डले उक्त अभिव्यक्ति दिएको आरोप लगाए ।

ओलीले भने ‘सेयर बजारमा लाखौं लगानीकर्ताहरुले लगानी गरेका छन् । त्यो संवेदनशिलतालाई नबुझेर हचुवामा बोल्नु बेठीक हो । कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि त्यसको रिसमा प्रचण्ड बोले । ’

उनले चन्दा नदिएको रिसमा प्रचण्डले सेयर बजारलाई डुबाउन त्यस्तो बोलेको दावी गरे । ओलीले प्रचण्डले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए।

उनले लेनिनले यसअघि पुंजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेको प्रसंग जोड्दै प्रचण्डले एक कदम अगाडी बढेर सेयर बजारलाई साम्राज्यवादको विकसित रुप भनेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement