काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दल बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा दिनुपर्छ,’ दलको निर्णय सुनाउँदै प्रमुख समेतक बर्तौलालले भने । एमालेले सरकार अल्पमतमा परिसकेको भन्दै कुनैपनि निर्णय नगर्न सचेत गराएको बर्तौलाले बताए ।
एमालेले प्रधानमन्त्री दाहालले असार २८ अघि राजीनामा नदिए विश्वासको मतको पक्षमा मत नदिने निर्णय पनि एमालेले गरेको छ ।
एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन पनि माग गरेको छ ।
एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । दुवै दलका मन्त्रीहरूले पदबाट राजीनामा दिइसकेका छन्।
नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री दाहालले असार २८ गतेको प्रतिनिधि सभा बैठकमा विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।
प्रतिक्रिया