तीन दिन भित्र पार्टी एकता र सरकारले पूर्णता पाउने एमाले नेताको दाबी


काठमाडौं-  नेकपा एमालेका नेता आनन्द पोखरेलले अबको तीन दिनभित्रै एमाले–माओवादी केन्द्रवीच एकता हुने र सरकारले पनि पूर्णता पाउने ठोकुवा गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिसकेको छ, यो जनताको अपेक्षा पनि थियो, अब एमाले र माओवादी केन्द्र भनेको एउटै पार्टी हो, माओवादी सरकारमा सहभागी कहिले हुन्छ भन्ने प्रश्नै हुँदैन्, अबको तीन दिनभित्रै दुईपार्टीवीच एकता हुन्छ, र सरकारले पनि पूर्णता पाउँछ।’

पोखरेलले माओवादी केन्द्र सरकारमा सहभागी हुनको लागि कुनै समस्या नभएको पनि जिकिर गरे । उनले थपे,‘हामी त राजपा र फोरमलाई पनि सरकारमा सहभागी गराउन आह्वान गरिरहेका छौं।’

उनले दुई पार्टीवीचको एकता वैचारिक सवाल (जवज र २१ औ शताब्दीको जनवाद) कुनलाई मार्गदर्शक सिद्धान्त बनाउने भन्नेबारे अहिले दुवै पार्टीका प्रमुख नेतावीच छलफल चलिरहेको पनि सुनाए । उनले एकता हुनेमा अब कुनै शंका नरहेको विश्वास दिलाए । पोखरेलले भने,‘म त एकता हुनेमा पूर्ण रुपमा ढुक्क छु, कुनै शंका छैन, अन्य दलहरुलेपनि हामी दुई पार्टीवीच एकता होस् भनेर शुभकामना दिनुभएको छ, उहाँहरुको प्रेरणा अनुसार नै एकता हुन्छ।’

 

फरक प्रसँगमा उनले एमाले संविधान संशोधनको विपक्षमा नरहेको सुनाए । उनले थपे,‘हामी संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं, बरु संशोधन अब कार्यकारी राष्ट्रपति बनाउने गरि बहस गरौं न, भाषा, सिमांकनमा अब कुनै विवाद छैन, जनताले जनमत दिईसकेका छन् नि, संशोधन त भैरहने कुरा हो, सहमति कायम गरेर अघि बढ्नुपर्छ।’ उनले संशोधनको लागि तागद पुर्याउनको लागि पनि राजपा र फोरम सरकारमा आउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement