राष्ट्रियसभा गठन प्रक्रिया र निर्वाचन प्रणालीबारे एमाले र माओवादी नेताबीच छलफल


काठमाडौं– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा २४ असोजमा  बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रिय सभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो ।

 

शीर्ष नेताले वरिष्ठ कानून व्यवसायी तथा पूर्व महान्यायाधिवक्तासँग समेत छलफल गरेका थिए । राष्ट्रियसभामा बहुमतीय निर्वाचन प्रणालीअनुसार जाने कि एकल संक्रमणीय मतका आधारमा जाने भन्ने विषयमा छलफल केन्द्रित थियो । छलफलमा सहभागी सांसद रामनारायण बिडारीले राष्ट्रियसभा गठन प्रक्रिया र निर्वाचन प्रणालीबारे छलफल भएको जानकारी दिए  ।

 

 

राष्ट्रियसभाको चुनावसम्बन्धी संवैधानिक व्यवस्था र त्यसमा देखिएका असहजतालाई सहजबनाएर कसरी अघि बढ्ने भन्ने सम्बन्धमा पनि शीर्ष नेताले छलफल गरेका थिए ।
व्यवस्थापिका–संसद्ले प्रक्रियामा लैजान लागेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक सोहीरूपमा अगाडि बढाउनुपर्ने धारणा सहभागीहरुले व्यक्त गरेका थिए ।

 

 

 

एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया अगाडि बढेपछि नेपाली कांग्रेसले एकल संक्रमणीय आधारमा नै राष्ट्रियसभा गठनको प्रक्रिया अगाडि बढाउने धारणा राखेको छ ।

 

 

राष्ट्रियसभामा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । त्यसमा ५६ जना निर्वाचन प्रणालीबाट छानिनेछन् भने तीन जना मनोनीत हुनेछन् । यस्तै बैठकमा सरकारका तर्फबाट माओवादी केन्द्रका मन्त्री हटाउने वा सरकार विस्तार तयारीप्रति समेत शीर्ष नेताले कानून व्यवसायीसँग छलफल गरेका थिए ।

 

 

 

कानून व्यवसायीले भने सरकारले मन्त्री हटाउने वा सरकार विस्तार गर्न नपाउने धारणा राख्दै निर्वाचन आचारसंहिता र अन्य संवैधानिक एवं राजनीतिक कारणले पनि त्यसो गर्न नपाइने धारणा राखेका थिए ।

 

 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ, पूर्व कानून मन्त्री एवं सांसद अग्नि खरेललगायत सहभागिता थियो ।

 

 

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठलगायत सहभागी भएका थिए । बैठकमा उम्मेदवारी चयनमा कार्यदलले गरेका प्रगतिबारे पनि छलफल भएको र शीघ्र सहमति जुटाउने सहमति समेत भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement