एमाले–माओवादी एकता : प्रधानमन्त्रीको भारत भ्रमणअघि


 काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता घोषणाको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले चैत अन्तिम साता भारत भ्रमणको तयारी गरिरहेको अवस्थामा भ्रमणअघि नै एकता घोषणा गर्ने तयारीमा दुई दल जुटेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटमा ओलीले भ्रमणअघि नै एकता घोषणा गर्न प्रस्ताव गरेका थिए । अध्यक्ष दाहालले शनिबार बसेको पार्टी सचिवालय समितिको बैठकमा ओलीद्वारा भ्रमणअघि नै एकता गर्नुपर्ने प्रस्ताव आएको र आवश्यक छलफल गरेर सम्भव भएसम्म भ्रमणअघि नै एकता गरिने बताए । दुई दलले यसअघि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ९ वैशाखमा पार्टी एकता घोषणा गर्ने तयारी गरेकाे खबर राजधानी दैनिकमा  छ ।

माओवादी सचिवालय समितिको बैठकले सम्भव भए भ्रमणअघि नै एकता घोषणा गर्ने गरी तयारीसमेत अघि बढाएको छ । बैठकले तीन दिनभित्र कार्यदलले प्रतिवेदन बुझाउने र आगामी १५ गते सचिवालय समितिको बैठक बसेर दुई पार्टी एकतालाई स्वीकृत गर्ने तयारी गरेको छ ।

पार्टी सचिवालय सदस्य मणि थापाले ओलीको भारत भ्रमणअघि नै एकता सम्पन्न गर्ने र त्यसका लागि युद्धस्तरमा तयारी गर्ने निर्णय भएको जानकारी दिए । ‘प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै एकता घोषणा गर्न युद्धस्तरमा काम गर्ने निर्णय भएको छ,’ उनले राजधानीसँग भने, ‘दुवै कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।’

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एकताको गृहकार्य आन्तरिक रूपमा तीव्रता दिएर चाँडै एकता प्रक्रिया टुंगोमा पु¥याउने बैठकले निर्णय भएको जानकारी दिइन् । माओवादीले १५ गते सचिवालय समितिको बैठकमार्फत एकतालाई अनुमोदन गर्ने तयारी गरे पनि एमालेले भने पार्टी माथिल्लो तहको बैठक बोलाएको छैन । पार्टी उपाध्यक्ष भीम रावलले अहिले नै पार्टी बैठक बस्ने तयारी नभएको र आवश्यक परेको खण्डमा कुनै पनि बेला बस्न सक्ने बताए ।

दुई दलद्वारा एकताको खाका तय गर्न गठित राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान तथा सांगठनिक मस्यौदा कार्यदललाई अबको तीन दिनभित्र प्रतिवेदन बुझाउन माओवादी बैठकले निर्देशन दिएको छ ।माओवादी केन्द्रले १३ चैतसम्म कार्यदलले प्रतिवेदन बुुझाएपछि १५ चैतमा पार्टी सचिवालय बैठक बसेर एकतालाई स्वीकार गर्ने तयारी भएको बताए । सांगठनिक तथा राजनीतिक प्रतिवेदनमाथि छलफललगायत एकतासम्बन्धी थुप्रै काम बाँकी रहेकाले छोटै समयमा एकता घोषणा गर्न कठिन रहेकोसमेत उनी बताउँछन् ।

गत ७ फागुनमा गठित दुई कार्यदलले २५ फागुनसम्म एकताको खाका तय गर्न जिम्मेवारी पाएकोमा सकेन । त्यसपछि दोस्रोपटक ५ चैत र तेस्रोपटक १० चैतको समयसीमासमेत कार्यदलले गुजारेको छ । सांगठनिक मस्यौदा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले नेताहरूको व्यस्तताका कारण पछिल्लो समय बैठक बस्न नसकिरहेको बताए । ‘अहिले बैठक नै बसेको छैन, के कस्तो प्रतिवेदन तय गर्ने भन्ने अन्तिम टुंगो भएको छैन,’ उनले भने ।

एकता संयोजन समितिको ७ फागुनमा बसेको बैठकले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने र एकीकृत पार्टीको कार्य्दिशा माक्र्सवाद लेलिनवाद राख्ने सहमति गरेका थिए । दुई दलले यसअघि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ९ वैशाखमा पार्टी एकता घोषणा गर्ने तयारी गरेका थिए ।

माओवादी प्रदेश इन्चार्ज हेरफेर

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको भूमिकामा रहेका माओवादी मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश १ इन्चार्जमा राम कार्की, प्रदेश २ को इन्चार्जमा विश्वनाथ शाह र प्रदेश ४ को इन्चार्ज हितराज पाण्डेलाई तोकिएको छ । यसअघि प्रदेश १ मा गोपाल किराती, २ मा मातृका यादव, ४ मा देव गुरुङ थिए । किरातीलाई पार्टीले कारबाही गरेको छ भने यादव मन्त्री र गुरुङ पार्टी संसदीय दलको प्रमुख सचेतक बनेपछि जिम्मेवारी हेरफेर गरिएको हो ।

यसैगरी, प्रदेश ५ मा मणि थापा र प्रदेश ६ को इन्चार्जमा जनार्दन शर्मा चयन भएका छन् । यसअघि, प्रदेश ५ मा वर्षमान पुन, प्रदेश ६ मा शक्ति बस्नेत रहेका थिए । दुवै मन्त्री बनेका छन् । प्रदेश ३ मा हितमान शाक्य र ७ मा लेखराज भट्टलाई इन्चार्ज यथावत राखिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement