देउवाले एकलौटी गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट, केपी ओलीसंग कांग्रेस नेताहरुको निरन्तर संवाद


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको भन्दै अर्का नेता शेखर कोइराला पक्ष असन्तुष्ट बनेको छ । संस्थापन पक्षले सिट बांडफांड र समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्दा एकलौटी गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट बनेको हो ।

कोइराला पक्षले शनिवार दिउंसो १ बजे थापागाउंस्थित बानेश्वर बैक्वटमा भेला समेत बोलाएको छ । भेलामा जिल्ला सभापति,केन्द्रीय सदस्य र सांसदहरुलाई बोलाइएको छ । उक्त भेलामा पूर्व जिल्ला सभापति समेत सहभागित हुनेछन् । तर, कोइराला भने भेलामा सहभागि नहुने स्रोत बताउंछ ।

उनिहरुले सभापति देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै त्यसको विरोधमा निर्णय गर्ने सम्भावना छ । समानुपातिक उम्मेदवारको बन्दसूची एकलौटी ढंगले गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट छ । उनिहरुले सिंट बांडफांडमा समेत सय सिट कांग्रेसले पाउनेगरी गठबन्धन गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर,देउवा भने गठबन्धनकै पक्षमा छन् ।

नेता शेखर कोइराला पक्षले सभापति देउवालाई एक सय सिटभन्दा तल सहमति नगर्न दबाव दिएपनि देउवा भने ८० सिट पाउंदा समेत सहमत हुने देखिएको कांग्रेस स्रोत बताउंछ ।

कोइराला पक्षले त्यसो गरे पार्टीमा विद्रोह हुने चेतावनी दिंदै आएको छ । सिट बांडफांड कार्यदलका सदस्य गगन थापा समेत पछिल्लो समय बैठकमा उपस्थित कम हुने गरेपछि त्यसले सत्तारुढ गठबन्धनभित्र त्यसले भएको छ । थापालाई समेत एक सय सिटभन्दा तल सहमति नगर्न उनकै समुहभित्र दबाव छ ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासंग सिट बांडफांडमा लचिलो रुपमा प्रस्तुत भएको भन्दै उनको पार्टीभित्र आलोचना बढेको छ । कांग्रेसका कतिपय जिल्ला कार्य समितिले समेत माथिको निर्णय लागु नगर्ने चेतावनी दिएपछि देउवा दबावमा छन् ।

पछिल्लो समय कांग्रेस नेता कोइरालासहित नेताहरु मिनेन्द्र रिजाल र अमरेश सिंहलगायत प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसंग निरन्तर संवादमा छन् । कोइरालापक्षिय नेताहरुले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्यको प्रस्ताव गरेको स्रोत बताउंछ । कोइराला पक्ष एमाले अध्यक्षसंग गहन छलफलमा लागेको सूचना प्रधानमन्त्री देउवालाई मिलेपछि उनि पार्टीभित्र सहमति कायम गर्नेपर्ने दबावमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement