युनेस्को काठमाण्डुद्वारा थामेमा अभौतिक सम्पदाको सूचीकरण आरम्भ

युनेस्को काठमाण्डुद्वारा थामेमा अभौतिक सम्पदाको सूचीकरण आरम्भ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) काठमाण्डुले सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिका–५ थामेका अभौतिक सम्पदाको सूचीकरण आरम्भ गरेको छ ।

विक्रम संवत् २०८१ साउन ३२ गते हिमताल विस्फोट पश्चातको बाढीका कारण बस्ती र सम्पदा प्रभावित भएपछि युनेस्को काठमाण्डुले परियोजना तर्जुमा गरेर विज्ञ सहितको अध्ययन टोली थामेमा पठाएको थियो ।

समुदायको सहभागितामा गरिएको अध्ययनको निष्कर्षका आधारमा मंगलबार भक्तपुरको नगरकोटमा आयोजित छलफल कार्यक्रममा थामेमा सूचीकरणको प्रक्रियामा रहेका सांस्कृतिक सम्पदाहरूको जानकारी दिइएको छ । सूचीमा खानाका परिकारतर्फ आलु रोटी, सोर्किम, थो र रिल्दोम (आलुको परिकार) तथा चाडपर्व र रीतिरिवाजतर्फ मणि रिम्दु, दुम्जी, लोसार, छेचु, चिरिम र बिदाइको रितलगायत रहेको अध्येता डा. नीलकमल चापागाईंले बताए ।

उनले विस्तृत अध्ययन गर्दा सूची बढ्न सक्ने जनाउँदै थामेमा बस्ती विस्थापन समेत हुन थालेकाले जीवन्त सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डा. सुरेशसुरज श्रेष्ठले युनेस्को मुख्यालयको नीतिलाई पालना गर्दै नेपाल सरकारले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणको काम सुरु गरिसकेको जानकारी दिए । उनले सातै प्रदेशमा अभौतिक सम्पदा सूचीकरणको अभियान सञ्चालन गरेर आह्वान गर्दा गत वर्ष  १०५ सम्पदा सूचीकरणका लागि आवेदन आएकोमा अहिलेसम्म नेवार सुदायको योमरी परिकार सूचीकरणमा परेको बताए । योरमरीलाई युनेस्कोको मार्गदर्शनअनुसार अन्तरराष्ट्रियस्तरमा सूचीकरणका लागि प्रक्रिया सुरु भएको उनले बताए ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ अक्टोबर १७ मा पारित गरेको अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धिलाई नेपालले सन् २०१० मा अनुमोदन गरेको थियो ।

कार्यक्रममा युनेस्कोका लागि नेपाल प्रतिनिधि याको डु तोइटले हिमाली क्षेत्रमा बसोबास गर्दै आएको शेर्पा समुदायलाई केन्द्रमा राखेर अध्ययन गरिएको र यसलाई सरोकारवाला पक्षबाट प्राप्त सुझावका आधारमा प्रकाशन गरिने बताए ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक अर्चना श्रेष्ठले नेपालमा अहिलेससम्म ४ वटा हिमताल फुटिसकेको र हिमलात फुट्दा स्थानीयको जनजीवनमा गम्भीर असर पर्ने भएकाले पूर्व सचेतनामा ध्यान दिनुपर्ने बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले थामेका शेर्पा समुदाय सम्पदा संरक्षणमा कटिबद्ध हुनाका साथै काटमार नगर्ने र  जङ्गली जनावरलाई बाली खान दिने स्वभावका भएको अनुभव सुनाए । नेपालमा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र अभिलेखीकरणका लागि मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि २०८१ तयार गरेको छ । सो सम्बन्धी विधेयक हालै राष्ट्रिय सभाबाट पारित भएको छ ।

कार्यक्रममा प्राकृतिक विपद्बाट थामे समुदायमा परेको प्रभावबारे बनाइएको वृत्तचित्र सार्वजनिक गरिएको थियो ।