नेपालका हिमाल चढ्नेहरु नेपाल चिनाउने हिमाली दूत हुन्ः उपराष्ट्रपति पुन


इन्सब्रुक (अष्ट्रिया) । अष्ट्रियामा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को उपस्थितिमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । भियनास्थित नेपाली राजदूतावासको आयोजनामा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा स्थानीय समयअनुसार बुधबार राति विशेष समारोह गरेर सगरमाथा दिवस मनाइएको हो ।

समारोहलाई संबोधन गर्दैै उपराष्ट्रपति पुनले नेपालका हिमाल आरोहीहरु आफ्नो पाहुनामात्रै नभएर नेपाललाई संसारभर चिनाउने हिमाली दूतहरु भएको बताएका छन् । उनले नेपालको हिमालहरुको देश भएको र पर्वतारोहण नेपालको पहिचान भएका बताए ।

‘सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये ८ वटा नेपालमै हुनुका कारण पर्वतारोहण नेपालको पहिचान पनि हो’, उपराष्ट्रपति पुनले भने, ‘त्यसैले सगरमाथा तथा हाम्रा अन्य हिमालहरु आरोहण गर्नुहुने विश्वभरका आरोहीहरुलाई हामीले केवल विदेशी पाहुनामात्र होइन नेपाललाई संसारभर चिनाउन सहयोग गर्ने हिमाली दूतहरुको रुपमा लिन्छौँ ।’

उनले अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न भूमिका खेलेको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा र दुबै देशका उच्च पर्वतमालाहरु नेपाल र अष्ट्रियाबीच आत्मीयता तथा सुमधुर सम्बन्ध विकास गर्ने प्रमुख कडी भएको उनकोे भनाई छ ।

‘अष्ट्रियाको समाजमा सगरमाथा आरोहीहरुको विशेष सम्मान तथा ख्याति रहेको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ’, उनले भने, ‘सगरमाथा आरोहण गरी ख्याति प्राप्त गर्नुभएका अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’

उपराष्ट्रपति पुनले नेपाल‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सहित समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । उनले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदानलाई वृद्धि गर्दै नेपालको पहिचानलाई विश्वमाझ अझै फैलाउनका नेपालले भ्रमण वर्ष सन् २०२० मनाउन लागेको जानकारी दिंदै नेपाल भ्रमणका लागि अष्ट्रियाली नागरिकलाई अपिल गरे ।

‘हिमाल आरोहण र पदयात्रामात्र नभई विभिन्न खालका साहसिक खेलकुदहरु, वन्यजन्तु तथा पर्यावरणीय पर्यटनका साथै सम्पदा र संस्कृतिमा रुची राख्नेहरुका लागि समेत नेपाल विश्वमै उत्कृष्ट गन्तव्यको रुपमा रहेको छ’, नले भने, ‘अतः प्रकृति र संस्कृतिसँग एकसाथ साक्षात्कार गर्नका लागि नेपालको भ्रमण गर्न यहाँहरु सबैलाई म आग्रह गर्न चाहन्छु ।’

उपराष्ट्रपति पुनले ६० वर्ष पुग्न लागेको नेपाल र अष्ट्रियाबीचको कूटनीतिक सम्बन्ध र सगरमाथा र सम्पदाका कारण जोडिएको जनस्तरको सम्बन्ध आगामी दिनमा अझै समुधुर हुने विश्वास व्यक्त गरे । उनले अष्ट्रियाका राष्ट्रपति अलेक्जान्डर भान देर बेलेनले अग्रसरता लिनुभएको जलवायु सम्बन्धी शिखर सम्मेलनमा नेपाललाई पनि जोडिने अवसर मिलेको बताए ।

उनले वातावरण तथा जलवायू परिवर्तनका कुरा गर्दा हाम्रा हिमाल तथा पर्वतमाला माथि परेको प्रतिकूल पर्यावरणीय असरलाई पनि बिर्सन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement