काठमाडौं – वैकल्पिक राजनीतिको मियो थाम्ने उद्घोषसहित डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सोमबार पार्टी एकता गरेका छन्। दुवै जना पार्टी अध्यक्ष हुने गरी एकता गरिएको ‘समाजवादी पार्टी नेपाल’मा भट्टराई र यादवको कार्यविभाजन भने अलग छ। भट्टराई संघीय परिषद् अध्यक्ष र यादव केन्द्रीय कमिटी अध्यक्ष भएका छन्।
वरीयतामा एकीकृत पार्टीको पहिलो नम्बरमा डा। भट्टराई नै छन्। तर खास कार्यकारी भूमिकामा यादव हुने देखिएको छ। यी दुई नेताको राजनीतिक पृष्ठभूमि भिन्न छ। बाबुरामको राजनीतिक पृष्ठभूमि सुरुवातमा कांग्रेससँग जोडिएको थियो भने उपेन्द्रको पृष्ठभूमि वामपन्थीहरूसँग।
बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि भट्टराई उनको त्यो नीतिसँग सहमत देखिएनन्। त्यसपछि उनको सम्बन्ध कांग्रेससँग ‘ब्रेक’ लाग्यो। उनको झुकाव क्रमशः कम्युनिस्टहरूसँग बढ्न थाल्यो। उपेन्द्र भने सुरुदेखि नै पुष्पलालले नेतृत्व गरेको कम्युनिस्ट पार्टीबाटै राजनीतिमा प्रवेश गरेका थिए।
राजनीतिमा आएको विविध उतारचढावपछि भने अहिले दुवै नेताले वामपन्थी राजनीति छाडेका छन्। दुवै समाजवादी पार्टी निर्माणमा लागेका छन्। हुर्काइ, वर्ग धरातल भने दुवै नेताका एकै खालका देखिन्छन्। यादव अहिले सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन्। भट्टराई विपक्षी बेन्चमा छन्। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया