जनताको जलविद्युतको शेयर ७ गतेबाट, ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गरिने


काठमाडौं– जनताको जलविद्युतको पहिलो शेयर चैत ७ गतेदेखि खुल्ने भएको छ। ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले साधारण शेयर बिक्री गर्न लागेको हो।

सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो ।

सोही कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशुली जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गर्न लागिएको हो। कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण शेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत् कम्पनी हो । छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ ।

कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् ३७ करोड पाँच लाख बराबरको १०० अङ्कित दरको ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो । अग्रिम रूपमा शेयर बिक्री गर्न लागिएकाले हाल प्रतिशेयर १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

कूल बिक्री हुने शेयरमध्ये एक लाख ११ हजार १५० कित्ता शेयर भने कम्पनीका कर्मचारीलाई संरक्षण गरिएको छ । शेयरमा आवेदन दिने आवेदकले पहिलो चरणमा प्रतिशेयर १० का दरले हुन आउने रु तीन करोड ७० लाख ५० हजार मात्र अग्रिम भुक्तानीका लागि आग्रह गरिएको छ । उक्त शेयरवापत चुक्ता हुन बाँकी रहने रु ९० भने नियमानुसार पछि माग गरिने आह्वानपत्रमा उल्लेख छ । त्यो भनेको आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि थप रकम माग गरिनेछ ।

नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ । आयोजनाको कूल क्षमता ३७ मेगावाट रहेको छ भने कूल लागत निर्माण अवधिको व्याज समेत गरी कूल रु आठ अर्ब २२ करोड ७४ लाख रहेको छ ।

शेयर बिक्री गरिएको मितिदेखि ७ दशमलव ९५ वर्षमा साधारण लगानी फिर्ता हुनेछ । सो कम्पनीको साधारण शेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लाबेल आइएमई क्यापिटल रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमको घोषणा गर्दै सो कार्यक्रमको पहिलो शेयर आफूले लिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement